इरानमाथि नेपालको फराकिलो जित

काठमाडौं। इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले यू–१९ एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।

वाईएसडी (यूकेएम क्रिकेट ओभल) बाङ्गीमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ३५३ को विशाल योगफल खडा गर्यो।

जवाफमा इरानलाई ३०.४ ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेट्यो । उसका लागि ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । २२ बल सामना गरेका उनले ५ छक्का र १ चौका प्रहार गरेका थिए । उनले पहिलो विकेटका लागि समन शेखीसँग ३६ रनको साझेदारी गरेका थिए । छैटौं ओभरको अन्तिम बलमा सुवास भण्डारीले पहिलो विकेटका रुपमा शेखीलाई ५ रनमा पभेलियनको बाटो देखाएपछि इरानको निरन्तर विकेट गुमायो ।

घातक बलिङ गरेका दीपेश कँडेलले ७ ओभरमा ४ रन खर्चिएर ३ विकेट लिए भने सुवासले ८.५ ओभरमा ६ रन खर्चिएर समान ३ विकेट हात पारे । हेमन्त धामी र आकाश चन्दको नाममा २–२ विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने निकै खराब थियो । ओपनर अर्जुन कुमाल शून्य र तेस्रो नम्बरमा आएका आकाश त्रिपाठी ३ रनमा आउट हुँदा नेपालको स्कोर १०/१ थियो ।

तर चौथो नम्बरमा आएका कप्तान देव खनालले दीपक बोहोरासँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरे । त्यसक्रममा खनालले ५९ बलमा शतक पुरा गरे । अर्को बलमा उनी आउट भए भने अर्को ओभरमा बोहोरा पनि पभेलियन फर्किए । ५९ बलको सामना गरेका उनले ६५ रन बनाए ।

त्यसपछि नेपालीको पारी दीपकप्रसाद डुम्रे र दीपेश कँडेलले सम्हाले । दुबैले पाँचौं विकेटका लागि ९१ रनको साझेदारी गरे । डुम्रे ४४  बलमा ६९ रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर २७६/५ थियो ।

थप थप रन जोड्दा दीपक पनि आउट भए । बल बलको सामना गरेका उनले २९ रन बनाए । दीपक बोहोरा १ र मिलन बोहोरा शून्यमै आउट भए । तर तल्लो अर्डरका ब्याट्सम्यानले नेपालको स्कोरलाई ३५३ रनसम्म पुर्याए । त्यसक्रममा मेहन्त धामीले १९ बलमा २३ र आकाश चन्दले ११ बलमा १९ रन बनाए । सुवास भण्डारी १८ रनमा अविजित रहे ।

इरानका डाडरहमान राइसी र सलमान नयाज्माले समान ३–३ तथा जेइद राएसी र समान शेखीले समान २/२ विकेट लिए । नेपालका कप्तान खनाल म्यान अफ दि म्याच भए । टिमको स्कोर र आफ्नो शतकप्रति खुसी रहेको उनले बताए । उनले इरानको फिल्डिङको तारिफ गरे । नेपालले दोस्रो खेल आइतबार बहराइनसँग बायोमास ओभलमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया