काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन्।
एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए। ‘हामीले १०-१५ रन बढी दियौं। फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०-१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि मोन्टीले पत्रकारसँग भने।
भारतले सानदार सुरुवात गरेपनि १० देखि १५औं ओभरसम्म नेपालले कसिलो बलिङ गरेको थियो । त्यो ५ ओभरमा नेपालले ३४ रन मात्र दिएको थियो । १५ ओभरमा १३८ रन बनाएको भारतले अन्तिम ५ ओभरमा भने ६४ रन जोड्यो ।
त्यसमा नेपाली बलरहरुमाथि भारतका रिंकु सिंह र शिवम दुवे हावी भए । भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरु रहेकोले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए ।
‘हामीले अझ राम्रो गर्न सक्थ्यौं । टी२० खेल हो जे पनि हुन सक्छ । १५ रन जति बढी भयो’, कप्तान रोहितले भने । रोहितले पनि फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर यशस्वी जैसवालको शतक मदतमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो । इनिङ्सको अन्तिमतिर रिंकु सिंह रु शिवम दुवेले उत्कृष्ट ब्याटिङ गर्दा भारतले २०० रनको आँकडा पार गरेको थियो ।
टी(२० आईको शीर्ष वरीयतामा रहेको भारतविरुद्ध २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि भने नियमित अन्तरालमा विकेट गुमाउँदा ब्याटिङमा एकरुपता हुन सकेन ।
नेपालका लागि सन्दिप जोरा र दीपेन्द्र सिंह ऐरीले पाँचौ विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए। जोरा र दीपेन्द्र क्रिजमा हुँदासम्म जित्नेमा आशावादी भएपनि उनीहरुको विकेट जानु नै टर्निङ प्वाइन्ट भएको कप्तान रोहित पौडेलले बताए। ‘जोरा र दीप्पी दाइ हुँदासम्म हामीलाई डगआउटमा पनि आश थियो कि हामी चेस गर्न सक्छौं।’
१२२—४ को अवस्थामा रहेको नेपाल दीपेन्द्र १५औं र सन्दिप १६औं ओभरमालगातार आउट भएपछि १५.४ ओभरमा ६ विकेट गुमाएर १४० रनको अवस्थामा पुग्यो। त्यसपछि पनि नेपालले लगातार जस्तो विकेट गुमायो । नेपालका लागि दीपेन्द्रले सर्वाधिक ३२ रन बनाउँदा कुशल मल्ल र सन्दिप जोराले समान २९ तथा कुशल भुर्तेलले २८ रन बनाए। करण केसीले नटआउट १८ रन जोडे।
भारतका अनुभवी बलरहरु रवि बिश्नोई र आभेष खानले ३÷३ तथा अर्शदिप सिंहले २ विकेट लिए। यसै खेलबाट टी२०आईमा डेब्यु गरेका साई किशोरले १ विकेट लिए।
भारत विरुद्ध नेपालका लागि दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे। बलिङमा नेपालबाट सर्वधिक २ विकेट लिएका उनी नेपालका लागि सर्वाधिक रन बनाउनेमा समेत अगाडि रहे।
प्रशिक्षक मोन्टी र कप्तान रोहिले दीपेन्द्रको तारिफ गर्दै टी-२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक रहेको बताए । ‘उ दीपेन्द्र टी २० स्पेशलिस्ट हो,’ मोन्टीले सटिक जवाफ दिए ।
‘क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, कप्तान रोहितले भने । प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताए । ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं,’ उनले भने ।
रोहित शर्माको कप्तानीमा रहेको भारतको सिनियर टोली वान डे विश्वकप खेल्ने तयारीमा रहेकोले भारतले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई एसियाडमा पठाएको थियो ।
दियो खबर । १६ आश्विन २०८०, मंगलवार १७:४१