काठमाडौं। मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् ।
प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको बीबीसीले जनाएको छ ।
निवर्तमान राष्ट्रपति सोलिह भने भारतसँग सम्बन्ध सुधार हुनुपर्छ भन्ने विचार राख्दथे । उनले भारतसँग सम्बन्ध बलियो बनाउने कोसिससमेत गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको जन्म १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा लागेका थिए ।
दियो खबर । १४ आश्विन २०८०, आईतवार १०:४७