काठमाडौँ। चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।
कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो ।
हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।
नेपालका लागि कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए । उनले ५० बल खेल्दै ८ चौका र १२ छक्का प्रहार गरे । कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडे ।
यस्तै रोहितले २७ बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि १९३ रनको साझेदारी गरे ।
त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे। उनले १० बल मात्र खेल्दै ८ छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २ रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका हुन् ।दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडे।
७.२ ओभरमा ६६ रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालका लागि कुशल मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रन बनाएर आउट भए।
दियो खबर । १० आश्विन २०८०, बुधबार ०९:५३