पाकिस्तान र न्युजिल्यान्डको खेल दर्शकविहीन रङ्गशालामा खेलाइने

काठमाडौँ। आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ।

विश्वकपको मिति नजिकिँदै गर्दा प्रतियोगिताका सहभागी राष्ट्रहरू अन्तिम तयारीमा व्यस्त छन्। विश्वकप सुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपअघि सबै टोलीले दुई—दुईवटा अभ्यास खेल खेल्ने प्रबन्ध मिलाएको छ । यसै क्रममा पाकिस्तानी टोलीले पनि विश्वकपअघि दुईवटा अभ्यास खेल खेल्नेछ।

पाकिस्तानले पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ। तर, पाकिस्तान र न्युजिल्यान्डबीचको उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि उक्त अभ्यास खेल दर्शकविहीन रङ्गशालामा खेलाइने समाचारको पुष्टि गरेको छ।

सुरक्षाको कारणले पाकिस्तानको पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको बीसीसीआईले जनाएको छ । ‘पाकिस्तान र न्युजिल्यान्डबीच २९ सेप्टेम्बरमा हैदराबादमा हुने पहिलो अभ्यास खेल बन्द रङ्गशालामा खेलाइने छ । सुरक्षाका कारणले यस्तो निर्णय लिइएको हो,’ बीसीसीआईले भनेको छ।

हिन्दु धर्मावलम्बीको महान् पर्व नजिकै रहेको र हैदराबादमा विभिन्न धार्मिक उत्सव सुरु हुने भएकाले पाकिस्तानी टोलीको अभ्यास खेल बन्द रङ्गशालामा खेलाउन लागिएको समाचारमा जनाइएको छ। स्थानीय सुरक्षा अधिकारीहरूले पनि पाकिस्तानको खेल बन्द रंगशालामै खेलाउन सुझाव दिएको बताइएको छ।

उक्त अभ्यास खेल हेर्न ठुलो सङ्ख्यामा क्रिकेट प्रेमी टिकट खरिद गरेका छन् । बीसीसीआईका अनुसार, त्यो खेल हेर्न टिकट खरिद गरेका समर्थकको पैसा फिर्ता गरिने छ । विश्वकपअघि पाकिस्तानले अक्टोबर ३ मा अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्नेछ।

पाकिस्तानले पहिलो अभ्यास खेल खेल्ने दिन नै गुवाहाटीमा बंगलादेशले श्रीलंकासँग र थिरुभाननथापुरममा दक्षिण अफ्रिकाले अफगानिस्तानसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। ती दुवै अभ्यास खेल दर्शकसहितको रङ्गशालामा खेलाइने छ।

सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिने छ। त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकपका खेलहरू सुरु हुनेछन्। पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

तपाईको प्रतिक्रिया