काठमाडौ /शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरू र सरकारबीच छलफल जारी छ।
बिहीबार साँझ ७ बजेदेखि सिंहदरबारस्थित गृह मन्त्रालयमा दुई पक्षबीच छलफल जारी रहेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।
‘साढे ६ बजेदेखि ७ बजे भित्रमा बैठक बस्ने तयारी थियो। त्यस अनुसार अहिले बैठक जारी छ,’ उनले भने, ‘बैठकमा सरोकारवाला निकायका मन्त्रीज्यूहरू बस्ने कुरा थियो।’
बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले बुधबारदेखि आन्दोलनको घोषणा गरेका छन्। शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले बुधबार र बिहीबार काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका हुन्। शिक्षकहरूले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका थिए।
आन्दोलनरत शिक्षक र सरकारबीच बैठक जारी
तपाईको प्रतिक्रिया
दियो खबर । ४ आश्विन २०८०, बिहीबार १९:४२