भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

काठमाडौँ। विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो ।

राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए । कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले। उनले ९ चौका र ३ छक्का हिर्काए । कोहलीको यो ४७औँ एकदिवसीय शतक थियो। उनले कूल ७७ शतक बनाइसकेका छन्।

त्यस्तै, कोहली एकदिवसीय खेलमा १३ हजार रन पुरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् । इनिङका हिसाबले उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गर्न सफल भएका हुन् ।

ह्यारिस राउफ घाइते भएपछि पाकिस्तान सोमबारको खेलमा सुरुदेखि दबाबमा परेको थियो । टोलीका लागि शाहीन शाह अफ्रिदी र शहदाब खानले मात्र १–१ विकेट लिए ।

यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । १२१ रनको सीमितमा शर्मा ५६ रन बनाउँदै शहदाब खानको बलमा आउट भए भने गिल पनि लगत्तै शाहीन शाह अफ्रिदीको शिकार बने । आउट हुन अघि उनले ५८ रन बनाए ।

तपाईको प्रतिक्रिया