लक्ष्मीप्रसाद देवकोटा – भाेलि सम्भवत् हिन्दु धर्मावलम्बीहरुकाे लागि यस वर्षकै सबैभन्दा पवित्र दिन हो । सोमबारको औंसी त्यो पनि साउन महिनामा परेको छ । यस दिन पुनर्वसु नक्षत्रले झनै यस दिनको महत्व बढाएको छ । यी विभिन्न संयोगका कारण भोलिको दिन दान धर्म र सद्विचारको लागि अतिपवित्र दिनको रूपमा मानिन्छ।
हिन्दु शास्त्रले यस तिथिमा भगवान शिव, विष्णु र पिपलको वृक्षलाई १०८ पटक परिक्रमा गर्दा सद्कामना पूरा हुने मान्यता राखिन्छ ।यस वर्ष साउन महिनामा औंसी र सङ्क्रान्ति सङ्गै परेको छ । भोलि सोमबारे औंसी परेको छ भने । ज्योतिषशास्त्रीहरूका अनुसार साउने सोमबार नै अमावस्या परेको यो संयोग धेरै वर्षपछि मिलेको हो । साउने सोमबारको दिन वृक्ष तथा वनस्पतिप्रति आफू कृतज्ञ हुने पर्वको रूपमा यसलाई मनाइन्छ । सोही कारण साउन महिनाभरि नै हरियो र पहेलो रंगलाई शुभ मान्ने गरिन्छ ।
धर्मशास्त्रका अनुसार पितृपक्षको रूपमा मानिने चन्द्रमास अनुसारको अमावस्या अर्थात् औंसी र सूर्यमास अनुसार मनाइने सोमबार आफैंमा महत्वपूर्ण छ । सोमबारलाई चन्द्रमा खुसी भएको दिनको रुपमा मान्ने गरिन्छ भने अमाबस्यालाई पितृहरूको महत्वपूर्ण दिन मान्ने गरिन्छ ।
हिन्दू शास्त्रमा पित्रृहरू चन्द्रमाभन्दा माथि बस्छन् भन्ने मान्यता छ । त्यही पितृपक्षको दिन चन्द्रमा खुसी भएको अवस्थामा दान दक्षिणा गरेमा आफ्ना पितृहरूले त्यसको फल पाउने र त्यसको आशीष लागेर आफुनो पनि श्रीवृद्धि हुन्छ भन्ने मान्यता रहेको नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नेत्रप्रसाद अधिकारीले जानकारी दिए ।
सोमबारे औंसीका दिन सूर्योदयभन्दा अघि अर्थात् ब्रह्म मुहूर्तमा पिपलको बोटमा जल तथा दूध चढाउँदा पितृदोष शान्त हुन्छ भन्ने मान्यता छ । यस दिन बिहान कसैसँग पनि नबोली नहुाउनु पर्छ भन्ने मान्यता राखिन्छ ।
सोमबारे औंसीको पूजा विधि
यसदिन घरका पूर्वजहरूलाई तर्पण दिने गरिन्छ । उनीहरूलाई शुद्ध रूपमा घरमा तयार पारिएको खानेकुराबाट उनीहरूलाई सन्तुष्ट गराउँदा आशीर्वाद मिल्ने छ। यस दिन भोकानाङ्गालाई दिइने दानले विशेष महत्व राख्द छ। यस दिन बिहानै उठेर कसैसँग पनि नबोली नुहाउनु पर्द छ । त्यसपछि विभिन्न मन्दिर र पिपलको रुखमा गएर पवित्र जल चढाउने गरिन्छ ।
अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गर्नु पर्दछ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु पनि राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिन्छ ।
दियो खबर । ३१ असार २०८०, आईतवार २१:५८