यात्रा संस्मरण लेख्ने बानी छैन । तर कहिलेकाहीको यात्रा महत्वपूर्ण हुँदोरहेछ । कालीकोटका संघीय सांसद दुर्ग बहादुर रावतसंग गएको असोज १७ गते सुर्खेतदेखि कालीकोटसम्म जाने अवसर पाईयो । सांसद रावतसंगै नेकपा कर्णाली प्रदेश समितिका सदस्य लक्ष्मी चौंलागाइ, पत्रकार प्रेम पाण्डे र साझा घर नेपालका सञ्चालक विनोद चौलागाइ कालिकोट जाने निधो भयो । हामी पाँच जनाको टोली सुर्खेत उपत्यकाबाट जीप रिजर्भ गरेर कालीकोटका लागि प्रस्थान गर्यौं । रातानाङ्ला पुग्दा हामीले सुर्खेत उपत्यकाको मनोरम दृश्यलाई वास्ता गरेनौं । सायद वर्षौदेखि आवतजावत भइरहने सुर्खेत उपत्यकाको मनोरम दृश्य हाम्रा लागि नौलो थिएन । हाम्रा लागि पंचायतकालदेखि अहिलेसम्मका सबै राजनितिक परिवर्तनका अनुभवी सांसद रावत र लक्ष्मी चौंलागाइका गफ नै मिठा थिए । उहाँहरुले हामीलाई आफ्नो जीवनकालमा विभिन्न समयमा घटेका घटनाक्रम सुनाउनु भयो । उहाँहरुका चाखलाग्दा र रमाइला कुराकानीहरु सुन्दै हामी दैलेखको तल्लो डुंगेश्वर पुगेको पत्तै भएन । त्यहाँ कमरेड मकालुसंग भेट भयो । उहाँ अहिले व्यापार गर्नुहुँदो रहेछ । उहाँसंग रमाईलो हाँसीमजाक गर्दै डुंगेश्वरमा माछाको सुपसंगै रोटी खायौं । त्यसपछि हामी अघि बढ्यौं । कर्णाली नदीको नागबेली सुसाहट जस्तै हामी चढेको जीप पनि नागबेली बाटोमा धुलो उडाउँदै अघि बढ्यो । यो राजमार्गमा यात्रा गरिरहँदा मलाई यो गीतको याद आउने गर्छ ।
”भीरको बाटोमा मोटर जाने भयो रे,
गहिरा गाउँकी कान्छीलाई लाने भयो रे,
साइँलाले साइँलाले मोटर गुडाउँदै,
लाने भो कान्छिलाई धुलो उडाउँदै ।”
यो गीतले भनेझैं साइँलाले कान्छीलाई सुन्दर, शान्त, धुलो र धुवाँरहित कर्णाली राजमार्गबाट स्वर्गकी अप्सरा रारासम्म घुमाउन पाउने अवस्था छैन । विकसित मुलुकका अनकण्टार भीरपाखामा सुन्दर, सफा र धुलो धुवाँ रहित राजमार्गजस्तै कर्णाली राजमार्ग कहिले बन्ने हो त्यो पनि निश्चित छैन । कर्णालीकाबासीले सहज यात्रा कहिले गर्न पाउने भन्ने पनि निश्चित छैन । मेरो मनमा यस्तै जिज्ञासाहरु उब्जीरहे । बर्षौदेखि कर्णाली राजमार्ग धुलाम्य छ । बर्षामा हिलाम्य हुन्छ । मुलुकमा शासनसत्ता फेरियो तर कर्णाली राजमार्गको अनुहार फेरिएन । यो राजमार्गको अनुहार फेर्ने कोही माइकालाल पनि जन्मेनन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कर्णाली राजमार्ग बनाउने दृढ इच्छाशक्ति हुँदाहुँदै केन्द्र सरकारले सुन्दै सुन्दैन । पिच उप्कीएर खाल्डै खाल्डो भएको राजमार्ग, बर्षाको समयमा ठाउँ ठाउँमा जाने पहिरो र स्थानीयले गर्ने अबरोधको बारेमा भाइ बिनोदले आफ्नो यात्राको अनुभव सुनाउँदै गर्दा “मेरो पालामा कर्णाली राजमार्ग दुइलेनको बनाएर देखाउने सपना थियो तर केन्द्र सरकार बाधक छ, के गर्ने ?” भन्दै मुख्यमन्त्री शाहीले गरेको दुःखेसो मैले सम्झे । कर्णाली राजमार्गका यस्ता कथाव्यथासंगै जीपभित्रैबाट देखिने दैलेख र अछामका सुन्दर हरियाली डाँडापाखा र खोँचहरु छिचोल्दै हामी कालीकोटको सेरिघाट पुग्दा रात परिसकेको थियो । तरपनि हामी कालीकोटको सदरमुकाम पुग्ने योजना अनुसार अगाडी बढ्यौं । रातको ८ बजे कालीकोटको मान्ममा पुग्यौं । महतारा होटलमा हामीलाई बस्ने व्यवस्था मिलाईएको थियो । त्यो होटल कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीप महताराको रहेछ ।
असोज १८ गते कालीकोटको खाँडाचक्रमा कृषि विकास कार्यालयले आयोजना गरेको समिक्षा कार्यक्रममा सहभागी भईयो ।कार्यक्रमको प्रमुख अतिथीको रुपमा सांसद रावत, विशेष अतिथी कर्णाली प्रदेशकी भूमि व्यवस्था कृषी तथा सहकारी मन्त्री बिमला केसी, नेकपा कालीकोटका अध्यक्ष धनजीत शाही हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, स्थानीय तहका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, पत्रकार, सरोकारवालाहरु सहितको उपस्थिति थियो । विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, सम्पदा खबरका प्रधानसम्पादक दुर्गाप्रसाद काफ्ले लगायतसंग भेटघाट गर्दै त्यो दिन बिताईयो । त्यो दिनको बास पनि महतारा होटलमै भयो ।
असोज १९ गते बिहानै कर्णाली प्रदेशको कृषी मन्त्रालयको आर्थिक सहयोगमा हिमचुली सहकारी संस्थाले निर्माण गरिरहेको दुग्ध डेरी भवनको अवलोकन गर्यौं । । त्यसपछि कृषीमन्त्री केसीसंगै जुम्लाको सिंजा उपत्यकातर्फ लाग्यौं । कालीकोट जिल्लाको परिचित भुगोल र साथीभाइसंग भेट्दै हामी साबिकको दाहाँ गाविसको सिम्लिघाटमा पुग्यौं । त्यहाँ कृषि विकास कार्यालय कालीकोटको सहयोगमा रोडकोरीडोर कार्यक्रम अन्तर्गत एकजना युवा किसानले गरेको ट्राउट माछा पालन व्यवसाय अनुगमन गर्यौं । कृषि मन्त्री केसीले त्यसको अवलोकन गर्दै ती युवालाई हौसला प्रदान गर्नुभयो । त्यसपछि पिलीमा टर्की पालनको अनुगमन गरिसकेपछि त्यहीं खाना खायौं । पिली एक ऐतिहासीक ठाउँ हो । जहाँ तत्कालीन जनमुक्ति सेनाले शाही नेपाली सेनालाई लडाइँमा पराजीत गरेको थियो । अहिले यो ठाउँलाइ युद्ध पर्यटकिय स्थल घोषणा गरि भौतिक संरचनाको निर्माण कार्य भइरहेको रहेछ ।
भौगोलिक रुपमा बिकट तर ऐतिहासिक पिलीको अवलोकनपछि हामी नाग्मगाड तर्फ बढ्यौं । नाग्मगाडमा पूर्वराज्यमन्त्री गोमा गौतम कुँवर, जुम्ला जिल्ला समन्वय प्रमुख लालबहादुर सार्की लगायत जुम्लाका पत्रकार साथीहरुसंग भेट भयो । उहाँहरुको न्यानो आतिथ्यतासंगै केहीबेरको बिश्रामपछि हामी सिंजा उपत्यका तर्फ लाग्यौं ।
सिंजा उपत्यकाको प्रवेशद्धार हिमा गाउँपालिकाको जुगारबजारमा पुग्दा त्यहाँका जनताले मन्त्री केसीलाई सयपत्री फूलका मालाले स्वागत गर्दै बिभिन्न समस्याहरु सुनाउन थाले । रारा राजमार्गमा पर्ने सिंजा उपत्यकाका देवारगाउँ, आचारलिंही, नराकोटका जनताले पनि मन्त्री केसीलाई भव्य रुपमा फुलमालाले स्वागत गर्दै आफ्ना दुःख बिसाउन थाले । जनताको गुनासा सुन्दै सकेजति सहयोग गर्ने मन्त्री केसीको वचनलाई स्थानीयले सहर्ष स्वीकारे । मन्त्री केसीले सिंजा उपत्यकाको हिमा गाउँपालिकामा मार्सीधान पकेट क्षेत्र, मोख्ला लिफ्ट सिचाइ, लक्षित वर्ग विशेष कार्यक्रम अन्तर्गत बाख्रापालन, सिंजाको ईलाका स्वास्थ्य कार्यालय, प्रहरी चौंकीको जिर्ण भवनको अनुगमन गर्नुभयो । सिजा गाउँपालिकामा पशु बधशालाको उद्घाटन पनि गर्नुभयो । उहाँको अनुगमनलाई हामीले साथ दियौं ।
सिंजा उपत्यकाका दायाँ बायाँ मार्सिधान फल्ने खेतहरुको विचबाट बग्ने नागवेली झै हिमानदी सिंजाको आकर्षणको केन्द्र हो । असोज महिना भएर होला खेतमा पाक्नै थालेको मार्सिधानले सिंजा उपत्यका झन सुन्दर र रमणीय थियो । तिलानदीको माथि माथि रारा राजमार्ग, राजमार्गका दायाँबायाँ स्याउका बगैचाहरु, आफ्नै कला र बिषेशताले सजिएका स्थानियका घरहरु र मार्सिधार फल्ने खेतका फाँटहरु सिंजाको सौन्दर्य झल्काउने गहनाहरु हुन । तत्कालीन समयको विशाल सिंजा साम्राज्यको राजधानी, नेपाली भाषाको उद्गम स्थल सिंजा सौन्दर्यले सजिएको मात्र नभइ ऐतिहासिक महत्व र पुरातात्विक सम्पदाले भरिपुर्ण पबित्र भूमि पनि हो । मोती झै चम्किने सिंजा उपत्यकाका खेतमा पाक्न थालेको मार्सीधानको तस्बीर क्यामरामा कैद गर्नेहरुको पनि कमी थिएन । मैंले आफ्नो सेल्फी खिचें ।
घडीमा अपरान्हको ४ बज्न थालेको थियो । मन्त्री केसीलाई जुम्लाको सदरमुकाम पुग्ने खबर आयो । मन्त्री केसी बेलुकीतिर जुम्लाको सदरमुकाम तर्फ लाग्नुभयो । साथी प्रेम पाण्डे र म सिंजा उपत्यकाको हिमा गाउँपालिकामा बस्ने निर्णय गर्यौं । हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही युद्धकालीन परिवेशका मेरा सहकर्मी । उहाँसंग गफिदै गर्दा खाना खाने समय भइसकेको थियो । रातको नौं बजे मिठो खाना खाएर मस्त निद्रामा सुत्यौं ।
असोज २० गते बिहान हामी सोचविचारको सोचले गति लिन थालेको हिमा गाउँपालिकाको अनुहार हेर्न गाउँपालिकाको कार्यालय रहेको जुगारबजारबाट उकालो लाग्यौं । सोचबिचार हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको जनयुद्धकालीन नाम हो । बिक्रम संबत २०१८ सालमा जन्मेका शाही २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए । २०५४ मा कांग्रेसबाटै गाविस उपाध्यक्षका उम्मेद्वार बनेका शाही कांग्रेसकै स्थानीय नेताले घात गर्दा पराजीत हुन पुगे र राप्रपाले जित्यो । २०५६ तिर गाउँमा जनयुद्धको लहर पस्यो । त्यतिबेला जुम्ला कालीकोटमा जनयुद्धका कमाण्डरहरु कमरेड रकम, दुर्ग, वीरजीत शाही, सुरेश पहाडी, हरिकृष्ण भण्डारी, लक्ष्मी चौलागाईंको पटक पटकको आगमनले सोचबिचारलाई तत्कालीन माओवादी जनयुद्धमा लाग्न प्रेरणा दियो । त्यसपछि उनी तत्कालीन माओवादीको किसान संगठनको जिल्ला स्तरीय नेता बने । २०५७ सालमा पूर्णकालीन हुँदा किसान संगठनको उपाध्यक्ष भए । पछि किसानको अध्यक्ष हुँदै बिभिन्न क्षेत्रमा काम गर्दै गर्दा तत्कालीन माओवादी केन्द्रले उनलाई २०७४ सालमा भएको स्थानीय तहको निर्बाचनमा गाउँपालिकाको अध्यक्ष उम्मेद्वार बनायो । चुनावमा उनी भाग्यमानी ठहरीए । उनले आफ्ना प्रतिद्धन्द्धि तत्कालीन एमालेका भैवहादुर रोकायालाई जम्मा ३ मतले पछि पार्दै बाजी मारे । शाहीले १३१७ मत पाए भने रोकायाको १३१४ मत आयो ।
फराकिलो मतान्तरले जित्छु भन्ने सोचेका शाहीलाई मतपरिणामले झस्काइ दियो । तरपनि गाउँपालिकामा केही नयाँ काम गरेर जनताको मन जित्ने चाहना अनुसार अध्यक्ष शाहीले केही उदाहरणीय काम गर्नुभएको रहेछ । उहाँले गरेका महत्वपूर्ण कार्यहरु मध्ये सडक, बत्ति, खानेपानी, सरसफाई, स्वास्थ्य र शिक्षा रहेछन् । गाउँपालिकाका हरेक वडामा सडक पुगेको छ । हरेक बस्तीमा बत्ति बलेको देखिन्छ । सबै वडाका घर घरमा खानेपानीको धारा पुगेको छ । गरिब असहायका छोरीछोरीलाई पढाउन आवासिय विद्यालय निर्माण गरिएको छ । वडा वडामा स्वास्थ्य चौकी र गाउँपालिकामा अस्पतालको विकास गर्ने लक्ष्य राखिएको छ । वडा नम्बर दुइको ओदीमा भेडापालन व्यवसाय शुरु गरिएको छ । सारमा भन्दा सोंचबिचारको सोंचले हिमाको मुहार हिजोभन्दा आज निक्कै बदलिएको छ । हामी हिमाले गरेको प्रगतिबाट खुशी हुँदै कालीकोटतर्फ फर्कियौं ।
देविराम देवकोटा
प्रेस संगठन नेपाल केन्द्रीय सदस्य
दियो खबर । २२ कार्तिक २०७७, शनिबार २०:३९