कालीकोट/सदरमुकाम मान्म बजारबाट घर फर्किने क्रममा ताडी हिरेचौर नजिकै भीरबाट लडेर खाँडाचक्र नगरपालिका- ४ का वडा सदस्य ४७ वर्षीय सन्तोष विश्वकर्माको मृत्यु भएको छ । उनी गत वर्ष वैशाखमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वार्चित भएका थिए ।
सदरमुकामबाट (स्थानीय) जनजिवन मा.वि का विद्यालय व्यवस्थापन समितिका सदस्य डिल्ली प्रसाद आचार्यसँगै घर हिँडेका खाँडाचक्र नगरपालिका -४ का वडा सदस्य विश्वकर्मा लाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको आफन्तले बताए ।
उनीसँगै भीरबाट खसेका ४० वर्षीय आचार्य सख्त घाइते छन् । आचार्यको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काठमाडौं रेफर गरेको वडाध्यक्ष प्रभानन्द आचार्यले बताए । बजारबाट घर जाने क्रममा बेलुका ७ बजेतिर ओरालोमा सन्तोष र डिल्ली दुबै जना लडेको प्रहरीले जनाएको छ ।
स्नातक तहसम्म अध्ययन गरेका विश्वकर्मा जिविस अन्तर्गत दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष पनि बनेका थिए । जनजिवन मा.वि का पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नवज्योति आधारभूत विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाल जनजिवन मा.वि का विद्यालय व्यवस्थापन समितिका सदस्य समेत थिए। विश्वकर्मा कांग्रेस निकट नेपाल दलित संघ कालीकोटका पूर्वसभापतिसमेत हुन् ।
तुलराज पाण्डे । ४ बैशाख २०८०, सोमबार २१:३९