रेबिज संक्रमण कुकुरको टोकाईबाट ५ वटा भैसीको मृत्यु

सुर्खेत  /  सुर्खेत जिल्ला चिङगाड गाउँपालिकामा पशुहरुमा रेबिज संक्रमण फैलिएको छ । कुकुर तथा विरालोमा रेबिज रोगको संक्रमण देखिएपछि स्थानीयमा त्रसित भएका छन् । माघको पहिलो हप्तादेखि कुकुर र विरालोमा रेबिजका लक्षण देखिएको थियो ।

कुकुर तथा विरालो छाडा छोड्दा संक्रमण तिव्र रुपमा बढेको छ । गाउँपालिकाको पशु सेवा शाखाबाट रेबिज विरुद्धको खोप लगाउने, जनचेतनामूलक माइकीङ, सन्देश प्रशारण गरी जनचेतनामूलक कार्यहरु गरिएको पशु शाखा प्रमुख सेर बहादुर रानाले जानकारी दिए ।

रेबिज संक्रमण भएको कुकुरको टोकाईबाट ५ वटा भैसीको मृत्यु हुनुका साथै रेबिज संक्रमणबाट ९ वटा कुकुर मरिसकेको→ जनाइएको छ । रेबिज लागेका पशुहरुको सम्पर्क रहेका १५० जनाभन्दा बढी स्थानीयहरुलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।

रेबिज संक्रमण भएका पशुहरुमा बहुलाहा हुने, रिसाहा हुने, झम्टिने, मुखबाट र्याल छोडने, अगाडी जे भेट्यो आक्रमण गर्ने प्रमुख लक्षण देखिएका छन् । रेबिज रोग संक्रमणलाई रोक्न, नियन्त्रण गर्न कुकुर, विरालोमा अनिवार्य खोप लगाउने, छाडा नछोड्ने, आशंका लागेमा, लक्षण देखिएमा तुरुन्त पशु प्राविधिकलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

रेबिज रोग नियन्त्रणका लागि गाउँपालिकाको पशु सेवा शाखाबाट पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाबाट १५० डोज, पशुपंक्षी निर्देशनालयबाट १५० डोज र गाउँपालिकाको पशु सेवा शाखाबाट १००० डोज गरी कुल १३०० डोज भ्याक्सिन कुकुरमा लगाइएको पशु सेवा शाखा प्रमुख रानाले जानकारी दिए ।

गाउँपालिकाका सबै वडा तथा टोलहरुमा रहेका कुुकुरलाई भ्याक्सिन लगाउन थप एक हजार बढी डोज भ्याक्सिन आवश्यक रहेको जनाइएको छ । भ्याक्सिन खरिदका लागि पालिकाबाट खरिद प्रक्रिया सुरु भएको पशु शाखा प्रमुख रानाले जानकारी दिए । कुकुरमा रेबिजको लक्षण यस अगाडी भेरीगंगा नगरपालिका र लेखबेशी नगरपालिकामा देखिएको थियो । बहुलाहा कुकुरकै टोकाईबाट भेरीगंगामा एक स्थानीयको मृत्यु भएको थियो । युग news

तपाईको प्रतिक्रिया