रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १२ को नयाँ गाउँ र जमारुमा खानेपानी पुग्न लागेको छ । नयाँ गाउँ–जमारु लिफ्टिङ खानेपानी आयोजनाबाट गाउँमा खानेपानी पुग्न लागेको हो । आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको वडाध्यक्ष धिरन शिर्पालीले जानकारी दिनुभयो ।
वहुवर्षिय योजना अन्तर्गत आयोजना निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । यस आयोजनाको काम आर्थिक वर्ष २०७७/०७८ मा सुरु भएको थियो । वडाध्यक्ष शिर्पालीका अनुसार कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग र सिँचाई खानेपानी तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको प्राविधिक सहयोगमा आयोजना संचालनमा रहेको छ ।
यस आयोजनाका लागि अहिलेसम्म ७० लाख खर्च भएको छ । सुरुको वर्ष ३० लाख, २०७८/०७९ मा २० लाख र चालु आर्थिक वर्ष २०७९/०८० मा २० लाख बजेट आएको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । आयोजनाका लागि बजेट अभाव रहेको उहाँले बताउनुभयो । आयोजना सम्पन्न गर्न अझै ६० लाख जति अपुग रहेको उहाँको भनाई छ ।
यो आयोजना सम्पन्न भएमा नयाँ गाउँ र जमारु वस्तिका वर्षौंदेखी खानेपानीबाट बञ्चित घर परिवारलाई लाभ पुग्ने वडाले जनाएको छ । दलित, विपन्न र जनजातीहरुको वसोवास रहेको नयाँ गाउँ र जमारुमा खानेपानीका मुहान नहुँदा गाउँभन्दा तलको पानी तानेर माथि पुर्याउन लागिएको हो ।
अहिले जमारुको उदिन टाकुरासम्म लिफ्टिङ विधिबाट ६५ एम.एम.को पाइपमा खानेपानी पुगि सकेको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । यो आयोजनाको काम चालु आर्थिक बर्षमा सम्पन्न हुने उहाँले बताउनुभयो । तत्कालै लक्षित वस्तिमा खानेपानी पुर्याउने प्रतिबद्धता अनुसार वडा अग्रसर रहेको वडाध्यक्ष शिर्पालीको भनाई छ ।
भावना शर्मा । २६ पुष २०७९, मंगलवार १२:१०