मुसिकोट बजारमा सोलार बत्ती जडान हुँदै

रुकुम पश्चिम / रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजारमा स्वचालित सोलार बत्ती जडानको काम सुरु भएको छ । रात परेको बेला बजार क्षेत्रमा हुन सक्ने चोरी डकैती तथा सडक दुर्घटना न्यूनीकरणका लागि सोलार बत्ती जडान गर्न लागिएको हो ।

मुसिकोट नगरपालिका उपप्रमुख विमलकुमार पुनका अनुसार पहिलो चरणमा खलंगा बजार, पातुखोला, बरहाटाकुरा र बागबजार क्षेत्रमा एकसय वाट क्षमताका ४० वटा सोलार बत्ती जडान गरिने भएको छ । नगरपालिकाको ४८ लाख रकम मध्ये पहिलो चरणमा ३० लाख २८ हजार ४ सय ५० रुपैयाँ लागतमा सोलार बत्ती जडान हुने भएको छ ।

रात पर्ने बित्तिकै अटो सिस्टममा आफै बल्ने र उज्यालो हुँदा आफै निभ्ने सोलार बत्ती जडानको काम अबको केही दिन भित्र सकिने बताइएको छ ।

कोबाल्ट इन्टरनेशनल प्रालि सुन्धारा -११, काठमाडौं मार्फत हाल मुसिकोट बजारमा सोलार बत्ती जडान भैरहेको छ ।

त्यस्तै दोस्रो चरण अन्तर्गत सल्ले तथा सेरीगाउँमा पनि सोलार बत्ती जडान गरिने भएको छ । त्यसका लागि टेन्डर आव्हान गरिएको र आगामी फागुन १६ सम्म टेन्डरको म्याद कायम गरिएको नगरपालिकाले जनाएको छ ।

दोस्रो चरणको सोलार जडानका लागि १८ लाख ५३ हजार ७ सय ४५ रुपैयाँ लागत रहेको छ । यसबाट थप १५ वटा स्वचालित सोलार बत्ती जडान हुने भएका छन् ।

तपाईको प्रतिक्रिया