रुकुम पूर्व / रुकुम पूर्वमा कोठा अभावका कारण लामो समय देखि बन्द रहेको बर्थिङ सेन्टर सञ्चालमा आएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित ढकलबारामा रहेको रुकुमकोट स्वास्थ्य चौकी अन्तर्गतको बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।
कोठा अभावका कारण २०७६ मंसिरबाट सेवा बन्द भएको बर्थिङ सेन्टर ४ वर्ष पछि गत पुष ६ गते देखि नियमित सञ्चालमा आएको छ । हालको जिल्ला अस्पतालको भवनमा रहेको उक्त स्वास्थ्य चौकी वडा नम्बर ६ को एक नीजि घरमा स्थानान्तरण गर्दा कोठा अभावको कारण सेवा बन्द हुन पुगेको थियो ।
ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरिरहेको सर्वाङ्गिण विकास केन्द र सिस्ने गाउँपालिकको संयुक्त आयोजनामा दुई कोठे भवन निर्माण भए पछि बर्थिङ सेन्टरबाट सेवा सुरु भएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सकुनतला बुढाथोकीले जानकारी दिनुभयो । यस अघि सेवा बन्द हुँदा जिल्ला अस्पतालबाट गर्भवति तथा सुत्केरी महिलाहरूले सेवा लिदै आएका थिए ।
अहिले वडाको स्वास्थ्य चौकीबाटै प्रसूति सेवा सुरु भइसकेको छ । कुल ६ लाख ६४ हजार रुपैयाँ बजेटमा भवन निर्माण भएको सर्वाङ्गिण विकास केन्द्र रुकुम पूर्वका कार्यकारी निर्देशक लिलामणि गौतमले जानकारी दिनुभयो ।
भावना शर्मा । १७ पुष २०७९, आईतवार १२:१६