जनकपुरधाम / धनुषामा दुई परिवारको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् ।
बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोरा अशोक यादवले बताए ।
प्रहरीले दुई समूहको विवादमा प्रभुको हत्या भएको हुनसक्ने जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको बताए ।
करिब दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको अनुमान छ ।

दियो खबर । १६ मंसिर २०७९, शुक्रबार ११:२६