चार विदेशी र सात नेपाली पर्यटक पाँच दिन देखि सम्पर्कविहिन

रुकुमपूर्व / लगातारको वर्षासँगै ११ जना पर्यटक सम्पर्कविहिन भएका छन् । बाग्लुङको ढोरपाटनबाट रुकुमपूर्व हुँदै डोल्पाको तल्लो सेराका लागि हिडेका ११ पर्यटक पाँच दिनदेखि सम्पर्कविहिन भएका हुन् ।

एकज्योती ट्रेक काठमाडौका मेनेजर बासु साँखले चार जना विदेशी र सात जना नेपाली पर्यटक सम्पर्कविहिन भएको जानकारी दिनुभयो । चार जना विदेशी पर्यटकहरु नेटदरल्याण्डका रहेका छन् ।

गत असोज १२ गते काठमाडौंबाट हिडेको पर्यटक टोली ढोरपाटन पुगेर अगाडि बढेपछि सम्पर्कविहिन भएको बासुले बताउनुभयो । उक्त टोली म्याग्दीको बेनी, रोल्पाको जलजला हुँदै बाग्लुङको ढोरपाटन पुगेको थियो । पयर्टकहरुको खोजी तथा सूचनाको लागि स्थानीय सरकार, प्रहरी समक्ष खबर गरेको समेत उहाँले बताउनुभयो ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले ट्रेकिङ एजेन्सीबाट आफूलाई पनि पर्यटक हराएको खबर आएको बताउनुभयो । लगातारको वर्षा र विभिन्न स्थानमा आएको पहिरोले रुकुमपूर्वको माथिल्लो क्षेत्र सञ्चार सम्पर्कविहिन भएकोले कुनै सूचना प्राप्त गर्न नसकेको उहाँले जनाउनुभयो ।

थिल्लो क्षेत्रमा हिमपात समेत हुन थालेकोले त्यहाँ पुग्न र सूचना संकलन गर्न कठिनाई भैरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया