कालिकोट — नेकपा (एकीकृत समाजवादी) कालिकोटले दशौं जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल थिए। विशेष अतिथिका रूपमा पार्टी उपाध्यक्ष एवं पूर्व मन्त्री प्रकाश ज्वाला, पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्यूरो सदस्य अमबहादुर थापा, प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरी,जिल्ला इन्चार्ज तुलाराज सिम्खडा, केन्द्रीय सदस्य द्वय विजया विष्ट र विश्वराज वम,प्रदेश कमिटी सचिव धीरबहादुर विष्ट,प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्यहरू तथा अन्य नेतृव तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभाध्यक्षता जिल्ला अध्यक्ष चित्रसिंह गाउॅंलेले गरेका थिए।अधिवेशनमा सम्मानित व्यक्तित्वहरू
तुलाराज बिष्ट — २०२५ सालमा चन्दननाथ बहुउद्देश्यीय विद्यालय, जुम्लामा स्ववियु सभापति हुँदै सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका बिष्ट २०३२ सालमा कम्युनिष्ट पार्टीका संगठित सदस्य बने। संविधानसभा सदस्य (२०७०) समेत रहनुभएका उहाँ कर्णालीको कम्युनिष्ट आन्दोलनका एक अग्रणी नेतृत्वकर्ता हुनुहुन्छ।
सिंहराज शाही — २०३१ सालमा एसएलसी उत्तीर्ण गरी २०३२ सालदेखि शिक्षण पेशामा लाग्नुभएका शाही २०६४ सालमा मावि प्रथम श्रेणी शिक्षक बन्न सफल हुनुभयो। कालिकोटको शैक्षिक विकासमा उहाँको योगदान उल्लेखनीय छ।
श्री सत्यदेवी उपाध्याय — कालिकोटबाट २०३८ सालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला उपाध्याय २०३७ सालदेखि शिक्षण क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ। उहाँको योगदानले जिल्लाको शैक्षिक रूपान्तरणमा महत्वपूर्ण प्रभाव पारेको छ।
कालो सार्की — जातीय विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै बाम आन्दोलनमा सक्रिय रहनुभएका सार्की दलित समुदायका अग्रज नेता हुनुहुन्छ। सामाजिक न्याय र समानताको पक्षमा उहाँको भूमिकाले गहिरो प्रभाव छाडेको छ।
पार्टीले यस्ता अग्रजहरूलाई सम्मान गर्दै समाजवादको यात्रामा उनीहरूको योगदानको उच्च कदर गरेको जनाएको छ।
दियो खबर । २ बैशाख २०८२, मंगलवार १०:४०