कालिकोट – नेकपा (एकीकृत समाजवादी) कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले समाजवादी मोर्चालाई वडा तहसम्म विस्तार गर्ने दाबी गर्नुभएको छ।
शनिबार महावै गाउँपालिकामा आयोजित नेकपा (एकीकृत समाजवादी) महावै गाउँ कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले मोर्चालाई अब जिल्लामा सीमित नराखी वडा तहसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभएको हो। उहाँका अनुसार, समाजवादी मोर्चामार्फत तीन तहकै सरकारसँग सहकार्य तथा संघर्ष गर्दै जनताको समस्या समाधान गरिनेछ।
अध्यक्ष गाउँलेले महावै गाउँपालिकाको समग्र विकासमा जोड दिँदै संघीयता र गणतन्त्रको अनुभूति विशेषगरी निम्न वर्गका जनता, दलित, जनजाति, महिला, कर्णाली र मधेसका नागरिकले गर्न पाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमपछि अध्यक्ष गाउँलेले माओवादी केन्द्रका नेताहरूसँग भेट गरी समाजवादी मोर्चा र विकास निर्माणबारे छलफल गर्नुभएको थियो।
अधिवेशनले सृजन शाही (पुष्कर) अध्यक्ष, नन्दबहादुर शाही उपाध्यक्ष, भीमबहादुर सिंह सचिव, शोभा सुनार र प्रेमबहादुर शाही उपसचिव रहेको २७ सदस्यीय गाउँ कमिटी चयन गरेको छ।
यसैगरी, वडा नं. ७ मा कुल महताराको नेतृत्वमा वडा कमिटी गठन गरिएको गाउँ कमिटी सचिव भीमबहादुर सिंहले जानकारी दिनुभयो।
कार्यक्रममा माओवादी केन्द्र महावैका अध्यक्ष जयचन्द्र अधिकारी (भूपाल), एकीकृत समाजवादी महावैका इन्चार्ज सुजनकुमार शाही, महावै गाउँपालिका वडा नं. ७ का अध्यक्ष नन्दकिशोर चौलागाईं (प्रवेश), अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश सचिवालय सदस्य मणिकेश अधिकारी (शिखर) लगायतका नेताहरूले शुभकामना दिएका थिए।यस्तै, नेपाली कांग्रेसका नेता नन्दबहादुर शाही, कुल महतारा, एमाले नेता सन्तवीरे विकसहित १४ जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
दियो खबर । १६ चैत्र २०८१, आईतवार १०:१३