नेकपा (एस) खाँडाचक्र–४ मा २३ सदस्यीय वडा कमिटी गठन

कालिकोट/ खाँडाचक्र नगरपालिका–४ मा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पदम विकको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरेको छ। साथै, ५ सदस्यीय सल्लाहकार परिषद् पनि गठन गरिएको छ।

वडा कमिटी गठनपछि आयोजित कार्यक्रममा नेकपा (एस) का जिल्ला इन्चार्ज तुलाराज सिम्खडाले नवगठित कमिटीलाई शुभकामना दिँदै संगठनलाई अझ सशक्त बनाउन आग्रह गरे। उनले केही स्वार्थी समूहहरूले विकास निर्माणमा अवरोध पुर्‍याइरहेको आरोप लगाउँदै पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए। “हामी जनताको पक्षमा छौं, संगठनलाई बलियो बनाउँदै खाँडाचक्रको समृद्धि सुनिश्चित गर्छौं,” सिम्खडाले भने।

नेकपा (एस) का जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले पार्टीलाई व्यवस्थित बनाउँदै जनतामुखी कार्यशैलीलाई प्राथमिकता दिने बताए। “हिजो व्यवस्था र नेतृत्वलाई कमजोर बनाउने प्रवृत्तिहरू अब सफल हुन सक्दैनन्। जनता र कार्यकर्ताको बलमा हामी सही मार्गमा अघि बढिरहेका छौं,” उनले भने।

त्यसैगरी, नेकपा (एस) का जिल्ला उपाध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले केही अराजक तत्वहरूले विकासका काम गर्न नदिएको आरोप लगाए। उनले पहिलाको ‘बिल मिलाएर खाने’ प्रवृत्तिको अन्त्य भएपछि केही व्यक्ति छटपटिएको बताए। “हिजोका दिनमा अव्यवस्थित रूपमा विकास बजेट खर्च गर्ने र सीमित व्यक्तिहरूले मात्र लाभ लिने प्रणालीको अन्त्य भइसकेको छ। अब काम पारदर्शी रूपमा अघि बढ्छ, जुन कुरा केहीलाई स्वीकार्य छैन। हामीलाई रोक्ने प्रयास भइरहे पनि जनतासँगै मिलेर अघि बढ्छौं,” शाहीले भने।

उनले नवगठित कमिटीलाई सफल कार्यकालको शुभकामना दिँदै पार्टीलाई अझ सशक्त बनाउँदै विकासलाई निरन्तरता दिन आग्रह गरे। “हामी विकास, समृद्धि र पारदर्शी शासनका पक्षमा छौं। संगठन बलियो भयो भने मात्रै खाँडाचक्रको उज्ज्वल भविष्य सम्भव छ,” उनले थपे।नेकपा एसका युवा नेता मोनज विश्वकर्माले वताए।

तपाईको प्रतिक्रिया