स्ववियू निर्वाचनमाथि सत्ता गठबन्धनको हस्तक्षेप? – सुदेश पराजुली

सुर्खेत – नेकपा एकीकृत समाजवादीका युवा नेता तथा पूर्व अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले स्ववियू निर्वाचनलाई भाड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले प्रमुख सत्ता घटकको निर्देशनमा उसका भातृ संगठनहरू क्याम्पसमा तालाबन्दी गर्दै स्ववियू निर्वाचन अवरुद्ध गर्न खोजेको आरोप लगाए।

उनले भने, “सत्ताको आडमा विद्यार्थी राजनीति नियन्त्रण गर्न खोजिँदैछ। एकातिर लोकतन्त्रको चर्को भाषण गरिन्छ, अर्कातिर क्याम्पसमा तालाबन्दी, विश्वविद्यालय तोडफोड गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि हमला गरिन्छ। यो दोगलोपन कहिलेसम्म?”

पराजुलीले स्ववियू निर्वाचन लोकतान्त्रिक अभ्यासको सुन्दर र आवश्यक प्रक्रिया भएको बताउँदै यो गणतान्त्रिक व्यवस्थामा रोक्न खोजिनु दु:खद भएको बताए। उनले स्मरण गराए, “पञ्चायती कालरात्री होस् वा ज्ञानेन्द्र शाहको शासनकाल, स्ववियू निर्वाचन रोकिएको थिएन। अहिलेको सत्ता गठबन्धन किन चुनाव रोक्न खोज्दैछ?”

उनले हालै देखिएको सत्ता गठबन्धनको हस्तक्षेपप्रति प्रश्न उठाउँदै सरकारलाई चेतावनी दिए, “स्ववियू निर्वाचन बुढानिलकण्ठ, बालुवाटार र सिंहदरबारको निर्देशनमा चल्ने होइन। लोकतन्त्रको सुन्दर फुलबारीमा विष नहालौं। विद्यार्थीलाई आफ्नो नेतृत्व आफैं छान्न देऊ!”

पराजुलीले सरकारलाई स्ववियू निर्वाचनबारे पुन: समीक्षा गर्न आग्रह गर्दै निष्पक्ष, स्वतन्त्र र नियमित निर्वाचन गराउन सम्बन्धित निकायलाई जिम्मेवार बन्न चेतावनी दिए।

तपाईको प्रतिक्रिया