कालीकोट/नेकपा (एकीकृत समाजवादी) कालीकोटको पलाता गाउँ कमिटीको दोस्रो अधिवेशन सोमबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले राजबहादुर बंम (सूर्य) को अध्यक्षतामा ४१ सदस्यीय नयाँ गाउँ कमिटी सर्वसम्मत चयन गरेको छ।
अधिवेशनकै अवसरमा एमाले, कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी ७० जना नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेताहरूले समाजवादी आन्दोलनलाई सशक्त बनाउने अभियानमा जुट्न आह्वान गरे।
अधिवेशनलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज तुलाराज सिम्खाडाले जनताको अधिकार सुनिश्चित गर्न र समाजवादको यात्रालाई तीव्र बनाउन पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “आज पार्टीमा प्रवेश गर्ने सबै कमरेडहरूलाई स्वागत छ। हामी गाउँगाउँमा संगठन विस्तार गर्दै वर्गीय आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्छौं।”
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टी अनुशासन, विचार र कार्यदिशामा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले भने, “अब हाम्रो जिम्मेवारी झन् ठूलो छ। जनताको बीचमा पुगेर संगठन बलियो बनाउँदै समाजवादको सपना साकार पार्न सबै लाग्नुपर्छ।”
कार्यक्रममा प्रदेश सदस्य डबल बोगटी, जडेनी बंम, जिल्ला उपसचिव मनसिंह धामी, अनेरास्ववियू केन्द्रीय सदस्य निर्मल शाही लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनको सञ्चालन नन्दकृष्ण न्यौपानेले गरेका थिए। निर्वाचित नेतृत्व र नवप्रवेशीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
दियो खबर । ४ चैत्र २०८१, मंगलवार १८:१९