सान्नी त्रिवेणीमा तीनदिने निःशुल्क आँखा शिविर संचालन

कालिकोट— नो लिमिट्स नेपालको आयोजना तथा सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा तीनदिने निःशुल्क आँखा शिविर शुक्रबारदेखि सुरु भएको छ। छिमेकी पालिकासहित सान्नी त्रिवेणीका नागरिकलाई निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गर्न उक्त शिविरको आयोजना गरिएको हो।

शिविरको उद्घाटन कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय महेन्द्र बहादुर शाही र गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी ले संयुक्त रूपमा गरे। उद्घाटन समारोहमा बोल्दै माननीय शाहीले ग्रामीण भेगका नागरिकको स्वास्थ्य सुधारका लागि यस्ता अभियानहरू महत्त्वपूर्ण हुने बताए। “स्वास्थ्य सेवाको पहुँच नपुगेका नागरिकलाई प्रत्यक्ष लाभ हुने भएकाले यस्ता शिविरहरूको आवश्यक छ,” उनले भने।

गाउँपालिका अध्यक्ष केसीले समेत दुर्गम क्षेत्रमा यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै आयोजक संस्थालाई धन्यवाद दिए। “आगामी दिनमा पनि यस्ता शिविर सञ्चालनका लागि पालिका सहकार्य गर्न तत्पर छ,” उनले भने।

शिविरमा भेरी आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञहरूद्वारा आँखाको परीक्षण, औषधि वितरण तथा आवश्यक परे शल्यक्रियाको परामर्श दिइने बताइएको छ। आयोजकका अनुसार शिविरबाट सयौं नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

नो लिमिट्स नेपालका अध्यक्ष खेमराज शाही का अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो। “यो पालिकामा दोस्रो पटक आँखा शिविर सञ्चालन गरेका हौं, आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं,” उनले प्रतिबद्धता व्यक्त गरे।

शिविरको पहिलो दिनमै ३०० भन्दा बढीले आँखाको परीक्षण गराएका छन्, भने शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको विवरण संकलन गरिएको छ।

यसैबीच, नो लिमिट्स नेपालले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। संस्थाले सामुदायिक विद्यालय सुधार, भौतिक संरचना पुनर्निर्माण तथा गरिब, विपन्न तथा असहाय बालबालिकालाई विद्यालय पोसाक, स्टेसनरी सामग्री सहयोग गर्दै आएको छ। साथै, महिलाहरूलाई आत्मनिर्भर बनाउन तीनमहिने सिलाइ–कटाइ तालिम तथा अन्य सीपमूलक तालिमहरू समेत सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया