पान्तडी पुल निर्माणमा ढिलाइ सह्य हुँदैन : महावै गाउँपालिकाको चेतावनी

कालिकोट — जिल्लाको महावै गाउँपालिका जोड्ने पान्तडी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै गाउँपालिकाले निर्माण कम्पनी र ठेकेदारलाई तत्काल काम अघि बढाउन कडा चेतावनी दिएको छ।

२०७७ सालमा ठेक्का सम्झौता भएको महादेव खिम्ती जेभी निर्माण कम्पनीले हालसम्म कुनै काम नगरेको भन्दै गाउँपालिकाले पत्राचारमार्फत निर्माण सम्पन्न गर्न ताकेता गरेको हो। पुल निर्माणको जिम्मा लिएका ठेकेदार रवि सिंहले समेत काम नगरेको गाउँपालिकाले जनाएको छ।

निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका सिंहको गैर-जिम्मेवार व्यवहारले राष्ट्रिय पूर्वाधार विकासमा नकारात्मक प्रभाव पारेको भन्दै आलोचना भएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं. ५ सुर्खेतले समेत पटक–पटक पत्राचार गर्दा काम अघि नबढेको उल्लेख छ।

महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले पुल निर्माण ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै अब ढिलाइ सह्य नहुने चेतावनी दिए। “पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढ्नु अत्यन्तै दुःखद र गैर-जिम्मेवार प्रवृत्तिको संकेत हो। यदि तुरुन्तै निर्माण कार्य अघि नबढाइए थप कानुनी प्रक्रिया अपनाइनेछ,” अध्यक्ष सिंहले भने।

गाउँपालिकाले पुल निर्माण अघि नबढे सम्बन्धित निकायसँग समन्वय गरी कानुनी कारबाही प्रक्रिया थाल्ने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया