शुभकालिकामा खानेपानी योजना सम्पन्न

कालिकोट – शुभकालिका गाउँपालिकाको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको प्राविधिक सहकार्यमा सञ्चालित शुभकालिका वडा नं. ४ र ५ अन्तर्गत अधिकारी बाडा र सुन्दर गाउँको मागी धारा खानेपानी योजना सम्पन्न भएको छ। योजनाको अन्तिम अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त योजनाले स्थानीय समुदायलाई स्वच्छ र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गराउने लक्ष्य राखेको छ। आयोजनाको सफल कार्यान्वयनपछि उपभोक्ताहरूले सहज रूपमा खानेपानी पाउने भएकाले खुशी व्यक्त गरेका छन्।

अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक टोली, उपभोक्ता समिति तथा सरोकारवालाहरूको उपस्थिति थियो। सहभागीहरूले योजना कार्यान्वयनका अनुभव तथा आवश्यक सुधारबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

यस योजनालाई सफल बनाउन दिनरात खटिएका हुरेन्डेक नेपालका प्राविधिक तथा सामाजिक कर्मचारीहरू, स्थानीय उपभोक्ता समुदाय र सरोकारवाला निकायहरूको सक्रिय भूमिकाबारे कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो।

सुनुवाइ कार्यक्रममा सहभागीहरूले आयोजनाको गुणस्तर, सेवा उपलब्धता तथा दीर्घकालीन दिगोपनका विषयमा छलफल गरेका थिए। समुदायले खानेपानी सेवाको निरन्तरता सुनिश्चित गर्न थप व्यवस्थापन आवश्यक रहेको सुझावसमेत दिएका छन्।

यो आयोजनाले स्थानीय स्तरमा दिगो खानेपानी व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको पत्रकार खडानन्द अधिकारीले बताएका छन्। स्थानीय सरकार र विकास साझेदार संस्थाहरूको सहकार्यले प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्ने सन्देश यस आयोजनाले दिएको उनले उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया