सान्नीत्रिवेणी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, विकासका नयाँ कार्यविधि र योजना पारित

कालीकोट – सान्नीत्रिवेणी गाउँपालिकाले “कृषि, पर्यटन, जल-जङ्गल हाम्रो पहिचान, शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मौलिक सान” भन्ने मूल नाराका साथ आफ्नो १५औँ गाउँसभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति कालीकोटका प्रवक्ता अजयबहादुर बम रहनुभएको थियो।
गाउँसभाले चालु आर्थिक वर्षका कामको समीक्षा गर्दै आगामी कार्ययोजना तयार पारेको छ। प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालका अनुसार गाउँसभामा चालु आर्थिक वर्षको हालसम्मको आय-व्यय विवरण प्रस्तुत गरिएको छ।

चालु आर्थिक वर्षका लागि विनियोजित ३१ करोड ६१ लाख ६२ हजार ९ सय ३७ रुपैयाँमध्ये पुष मसान्तसम्म १२ करोड ३४ लाख (३१.१४ प्रतिशत) खर्च भएको जानकारी दिइएको छ। जसमा चालु खर्चतर्फ ११ करोड ९ लाख ७२ हजार ८ सय ३९ रुपैयाँ र पुँजीगत खर्चतर्फ १ करोड २४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ।

नयाँ कार्यविधि र ऐनहरू पारित: गाउँसभाले विकास र समृद्धिका लागि आवश्यक विभिन्न ऐन, नियम, कार्यविधि, र मार्गदर्शन पारित गरेको छ। यस अन्तर्गत: सुरक्षित खानेपानीयुक्त समुदाय कार्यविधि २०८१ खानेपानी मुहान दर्ता तथा नविकरण कार्यविधि २०८१ खानेपानी गुणस्तर अनुगमन कार्यविधि २०८२ खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली मार्गदर्शन

गाउँपालिकाले पारित गरेका यी नीतिहरूले विकास प्रक्रियामा सहजता ल्याउने अध्यक्ष केसीले बताउनुभयो।

शिक्षा क्षेत्रमा १० वर्षे योजना पारित :गाउँसभाले १० वर्षीय गाउँ शिक्षा योजना पनि पारित गरेको छ। यसले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा विस्तारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

गाउँपालिकाले पारित गरेका ऐन, नियम र कार्यविधिहरू केन्द्र र प्रदेश सरकारका नीतिसँग नबाझिने गरी तयार गरिएको छ। यसले विकासका योजनाहरूलाई तीव्रता दिने विश्वास अध्यक्ष केसीले व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया