सुर्खेत/रामेछाप जिल्लाको खाँडदेवी गाउँपालिका-१, लुभुघाटकी पल्लवी माझीले कानुनी अध्ययन सुरु गर्ने अवसर पाएकी छिन्। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको माझी परिवार माछा मारेर जीविका चलाउँदै आएको छ। समाजमा हुने अन्यायको विरुद्ध सानैदेखि आवाज उठाउँदै आएकी पल्लवी महिला हिंसा र महिला अधिकारका मुद्दामा विशेष चासो राख्छिन्। त्यसैले उनले SEE पास गरेपछि कानुन पढेर वकिल बन्ने सपना देखेकी थिइन्।
तर, रामेछापमा कानुनी अध्ययनका लागि कलेज नभएकाले र बाहिर गएर पढ्ने आर्थिक अवस्था नभएकाले उनको सपना अधुरो हुने देखिन्थ्यो। परिवारसँग उनलाई काठमाडौँ ल्याएर पढाउने कुनै पनि आर्थिक स्रोत थिएन। यस्तै परिस्थितिमा, रामेछापका एमाले नेता माधव ढुंगेलले उनको कुरा धादिङका समाजसेवी कृष्ण अधिकारीसमक्ष राखे। अधिकारीले यसअघि पनि आर्थिक अभाव भएका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै आएका थिए। माधव ढुंगेलको अनुरोधमा उनले पल्लवीलाई काठमाडौँस्थित हार्डल्याण्ड कलेजमा कानुन विषयमा भर्ना गराइदिएका छन्।
पल्लवीको यो अवसरले उनको उज्ज्वल भविष्यको ढोका खोल्ने विश्वास गरिएको छ। हामी पल्लवी माझीको शैक्षिक प्रगति तथा सफल भविष्यको कामना गर्दछौं।
दियो खबर । १७ माघ २०८१, बिहीबार ०९:१४