कर्णाली प्रदेशको कार्यालय,तर सञ्चालन हुन्छ लुम्बिनीबाट

सर्खेत/तत्कालीन भेरी अञ्चल हुँदा स्थापना भएका कर्णाली प्रदेश सुरक्षा निकायका संरचना अझै लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र र कुकुर शाखा कर्णाली प्रदेशमा अझै स्थापना हुन सकेको छैन । कर्णालीमा पूर्वाधारअभाव देखाउँदै तालिम केन्द्र र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालन हुँदै आएका छन् ।
यस्तै, संघीय प्रहरी इकाइ, ड्रग शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगञ्जबाटै सञ्चालित छन्। कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ। यसले गर्दा अपराध अनुसन्धान ढिलो हुने गरेको सुरक्षा निकायका अधिकारी बताउँछन् ।
कर्णाली प्रदेशका कानूनमन्त्री हिमबहादुर शाही संघ र प्रदेशले साझा दायित्वमा गर्नुपर्ने कामका सन्दर्भमा संघ सरकारले नै बाधा उत्पन्न गराएको बताउँछन् । संविधान र संघीय कानुनमा प्रदेशको कानुन मन्त्रालयले शान्ति क्षेत्र अमनचयन कायम गर्ने भनेर भनिएको छ’, उनी भन्छन्, ‘शान्ति क्षेत्र र अमनचयन कायम गर्ने प्रहरीले हो। तर उसलाई खटाउने अधिकार प्रदेशलाई छैन ।
प्रदेश प्रहरी कार्यालयले यसअघि नै भौतिक पूर्वाधार नहुँदा प्रदेश मातहतका तालिम केन्द्र र तालिमप्राप्त कुकुर बाँकेमै राख्नुपरेको बताएको थियो । कानुनी अड्चन र भौतिक पूर्वाधार अभावले संरचना आउन नसकेको प्रहरीको भनाइ छ ।वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको अभाव पनि देखिएको छ । प्रहरीतालिम केन्द्रका लागि १५ देखि २० बिघा जमिन चाहिन्छ । सोअनुसारको जग्गा वीरेन्द्रनगरमा अभाव देखिएको छ ।स्रोत :  थाहाखबर

तपाईको प्रतिक्रिया