विमला वलीले भनिन् : फोटो ईडिट गरेर चरित्र हत्या गर्न खोजियो

दाङ/ लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी खत्री(वली)ले परपुरुषलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनमाथि प्रश्नचिन्ह उठेको छ । सोमबार वाईसियलका कार्यकर्ता एकराज बस्नेतको फेसबुक स्टोरीमा विमलाले बस्नेतमाथि चुम्बन गर्न लागेको फोटो सार्वजनिक भएपछि चौतर्फी रुपमा आलोचना हुन लागेको छ ।

तर, विमलाले भने आफूलाई फसाउन खोजेको बताएकी छिन् । बुधबार एक बिज्ञप्ति आफ्नो सामाजिक सञ्जालमा जारी गर्दै राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् । ‘हिजो एका–एक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु ।’, उनले विज्ञप्तिमा भनेकी छिन्‘ एकाएक मेरो फोटो जोडेर आउँदा म आफै आश्चर्य चकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।

मेरो चरित्रमाथि दाग लाग्ने गरि ‘साईवर स्याल’हरुबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारवाहीको माग गर्दछु ।’ आफूले माओवादी पार्टी रोजेपछि आफूलाई एमालेमै रहन पटक–पटक दवाव दिईएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ ।‘ मैले प्रदेशसभाको निर्वाचनमा दाङ क्षेत्र नं. ३(२)बाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित भए र, पछि माओवादी केन्द्र र एमाले आफ्नै अस्तित्वमा गएपछि मैले माओवादी केन्द्र रोजेँ’, उनले विज्ञप्तिमा भनेकी छिन्‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट म माथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए ।

मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आईरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’ साथै उनले आफू जिम्मेवारीप्रति प्रतिबद्ध रहेको समेत बताईन् ।

वाईसियलका कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक कसैले ह्याक गरेर फोटोसपबाट तस्वीर जोडेर भ्रम छर्न खोजेको बताएका छन् ।‘मेरो फेसबुक कसैले ह्याक गरेर फेसबुकमा मेरो र माननीयको फोटो जोडर पोष्ट गरेछ’, उनले भने‘ विमला मेरो दिदी हुनुहुन्छ, तर, पत्याउनै नसकिने गरि सामाजिक सञ्जालमा प्रस्तुत गरिएको छ, यसले हाम्रो चरित्रमाथि दाग लागेको छ ।’

वली लुम्बिनी प्रदेशको सरकार परिबर्तनमा निर्णायक भूमिका खेलेको भन्दै माओवादी केन्द्रले राज्य मन्त्री बनाउने गरि तयारी गरेको छ । उनका श्रीमान उत्तरकुमार ओली निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलका विश्वास पात्रका रुपमा रहेपनि विमलाले भने माओवादी रोजेर कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन भूमिका खेलेको भन्दै राज्यमन्त्री बनाउने गरि तयारी गरिएको थियो ।

उनी दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ को उपनिर्वाचनबाट विजयी भएकी थिइन । तत्कालिन नेकपाबाट विजयी भएकी उनले दुई पार्टी आ–आफ्नो अस्तित्वमा गएपछि माओवादी केन्द्र रोजेकी थिइन् । माओवादी राजेपनि एमालेले सत्ता बचाउ गर्नकालागि साउन १५ गतेदेखि एक हप्तासम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको बुटवलमा पत्रकारसम्मेलन गरेर समेत आरोप लगाएकी थिइन् ।

तपाईको प्रतिक्रिया