पत्रकार न्यौपानेलाई धम्कीप्रति महासंघको विरोध

सुर्खेत — अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता विष्णुप्रसाद न्यौपानेलाई समाचार प्रकाशनपछि सामाजिक सञ्जालमार्फत धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै न्यौपानेमाथि मानसिक दबाब दिने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।न्यौपानेले चैत्र १२ गतेको अंकमा “विदेशी सहयोगको चरम दुरुपयोगः सामाजिक संस्थाका नाममा आफन्त र परिवारको रजगज” शीर्षकमा सुर्खेतको कोपिला भ्याली सेवा समाजसम्बन्धी समाचार लेखेका थिए। त्यसपछि कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लका आफन्त प्रकाश सिंह, लोकजंग सिंह ठकुरीलगायतले उनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ। यस विषयमा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

महासंघले समाचारप्रति असहमति भए कानुनी बाटो अपनाउन सकिने अवस्थामा पत्रकारलाई धम्की दिनु निन्दनीय भएको बताउँदै दोषीलाई कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

तपाईको प्रतिक्रिया