सुर्खेत/जिल्ला अस्पताल कालीकोटको नयाँ भौतिक संरचना तयार भए पनि दक्ष जनशक्ति भने उपलब्ध भएको छैन । जिल्ला अस्पतालका लागि निर्माण भएको भवन बाहिरबाट हेर्दा राम्रो र आकर्षक देखिए पनि सेवाको गुणस्तर भने कमजोर रहेको पाइएको छ ।
गुणस्तरीय सेवा विस्तारका लागि जनशक्तिको सधैँ अभाव भइरहेको छ । अस्पतालका प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले जनशक्तिको अभाव भएको उल्लेख गर्दै यसका लागि पहल गरिदिन आग्रह गर्नुभयो । सोमबार अस्पतालको नयाँ भवन निरीक्षणमा आउनुभएका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष अस्पताल प्रमुख डा. पोख्रेलले सङ्घ सरकारले ५० शय्या अस्पतालको अुनमति दिने निर्णय गरे पनि प्रदेश सरकारले त्यसलाई रोकेको आरोपसमेत लगाउनुभयो ।
उहाँले जनशक्तिको व्यवस्थापनका लागि छ्ट्टिै प्रदेश सरकारसँग समन्वय गरिदिन आग्रह गर्नुभयो । अस्पतालका चिकित्सक र प्रशासनको आग्रहलाई स्वीकार गर्दै पूर्वमुख्यमन्त्री शाहीले तत्काल राम्रो भौतिक संरचनाको भरपुर उपभोग गर्दै बिरामीलाई सेवा दिन सुझाव दिनुभयो । कालीकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका शाहीले आफूले प्रदेश र सङ्घ सरकारसँग थप जनशक्ति व्यवस्थापनका लागि पहल गर्ने भन्दै तत्काल जुन जनशक्ति यहाँ उपलब्ध छ, त्यही जनशक्तिले भरपुर सेवा दिन दत्तचित्त रहन निर्देशन दिनुभयो । अस्पतालको अवस्थाबारे जानकारी लिन जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, अस्पताल विकास समितिका अध्यक्ष गगंन मल्ल, अस्पताल प्रमुख, चिकित्सकहरू सहभागी हुनुहुन्थ्यो । अस्पतालका कर्मचारीले जनशक्तिको व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।यो समाचार गोरखापत्र वाट साभार
दियो खबर । ८ माघ २०८१, मंगलवार १२:३६