एप्पलले घटायो आइफोनको मूल्य

बेइजिङ। आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ।

चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ। यसमा कम्पनीले छानिएका आइफोन मोडलमा २ हजार ३०० युआन (३१८ डलर)सम्म छूट दिइरहेको छ। चिनियाँ बजारमा कम्पनीको विक्री घटिरहेकै समयमा बजार हिस्साको रक्षा गर्न कम्पनीले आक्रामक कदम चालिरहेको हो।

चीनमा एप्पलले हुवावेई लगायत घरेलु कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । छूट अभियान मे २० देखि २८ सम्म रहेको छ । यसअघि कम्पनीले चिनियाँ बजारमा पहिलो पटक फेब्रुअरीमा आइफोन छूटमा बेचेको थियो । पछिल्लो अभियानमा त्यतिबेलाको भन्दा निकै धेरै छूट दिइएको छ ।

फेब्रअुरीको अभियानमा कम्पनीले सबैभन्दा धेरै दिएको छूट १ हजार १५० युआन थियो । यस पटकको सर्वाधिक छूट १ टीबीको आइफोन १५प्रो म्याक्स मोडलमा लागू हुनेछ । अन्य मोडलमा पनि भारी छूट दिइएको छ । १२८ जीबीको आइफोन १५ को मोडलमा १ हजार ४०० युआने छूट दिइएको रोयटर्सले सोमबार छूट रकम चेक गर्दै भनेको थियो ।

हुवावेईले गएको महिना हाई–एन्ड स्मार्टफोन सिरिजमा प्युरा ७० लञ्च गरेयता चीनमा एप्पलमाथिको दबाब बढेको छ । गएको वर्ष कम्पनीले मेट ६० लञ्च गरेको थियो । फेब्रुअरीमा  चलाइएको छूट अभियानले चीनमा एप्पलको विक्रीमा आएको सुस्तीलाई कम गर्न सघाएको थियो । मार्च महिनामा चीनमा एप्पलको विक्री १२ प्रतिशतले बढेको रोयटर्सको हिसाबले देखाएको छ । यो सन् २०२४ को पहिलाे २ महिनाको भन्दा निकै राम्रो हो । जनवरी–फेब्रुअरीमा चीनमा एप्पलको बिक्री ३७ प्रतिशतले घटेको थियो ।

तपाईको प्रतिक्रिया