बनेपाको बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने

काभ्रे। बनेपाको वडा नम्बर ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ।

शुक्रबार बागमती प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात मन्त्रालय र बनेपा नगरपालिका बीच कार्यालय राख्ने सम्बन्धमा दुईपक्षिय सम्झौता भएको हो।

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लालाई लक्षित गरेर मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा यातायात कार्यालय स्थापना गर्न लागिएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

सम्झौता श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द केसीको रहोवरमा भएको थियो। सम्झौतामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा मन्त्री लम्सालले मन्त्रालय सेवा विस्तार गर्ने अभियानमा लागेको भन्दै काभ्रे लगायतका आपसासका क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे।

उनले यातायात व्यवस्था कार्यालयका सेवालाई डिजिटल बनाउँदै लगेको पनि बताए ।कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए।

तपाईको प्रतिक्रिया