बन्धक छुटाउन हमाससँग सम्झौता गर्न इजरायल सहमत

काठमाडौँ। इजरायली मन्त्रिपरिषद्ले हमासको कब्जामा रहेका बन्धक छुटाउने सम्झौतालाई स्वीकृत गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायल बन्धक छुट्ने समयसम्मका लागि युद्ध रोक्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्नेछन्।

हमासले थप बन्धक छाड्दै गएमा थप केही दिन युद्धविराम पनि लम्बिने इजरायल सरकारले जनाएको छ। इजरायली सरकारको वक्तव्यमा भनिएको छ, ुथप १० जना बन्धक छाडिएमा थप एक दिन युद्ध रोकिनेछ।ु

इजरायल र हमासबीच बन्धक छाड्ने विषयमा कतारले मध्यस्थता गरिरहेको छ। कतारकै मध्यस्थतामा हमासले यसअघि पनि ४ जना बन्धक छाडेको थियो। सीएनएनका अनुसार कतारी अधिकारीहरूले बुधबार बिहान इजरायललाई सम्झौताको प्रस्ताव पेस गरेका थिए। त्यसपछि बसेको इजरायली मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो। बन्धक कहिलेदेखि छोडिन्छ भन्नेबारेमा भने स्पष्ट जानकारी आएको छैन। सीएनएनका अनुसार पहिलो चरणमा तीन जना अमेरिकी नागरिकसहित बालबालिका र महिलाहरूलाई हमासले छाड्ने छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सबै जना बन्धक सुरक्षित रूपमा घर फर्किएपछि पुनस् हमासविरुद्धको कारबाही सुरु हुने बताएका छन्। बन्धक बनाइएकाहरूको घरफिर्ती आफूहरूको ुठूलो लक्ष्यु भए पनि पूर्ण रूपमा जित हात नपारेसम्म हमासविरुद्धको कारबाही जारी रहने उनको भनाइ छ।

हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ। जसमा नेपालका विद्यार्थी विपिन जोशीसमेत रहेका छन्। इजरायली सुरक्षा फौजले जोशी हमासको कब्जामा गाजामा रहेको दाबी गरेको छ। जोशी र अर्का एक थाई नागरिकलाई हमासले उपचारका लागि अस्पतालमा लैजाँदै गरेको भिडियो उसले सार्वजनिक समेत गरेको छ । तर उक्त भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ। हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ। त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन्।

तपाईको प्रतिक्रिया