उपाध्यक्ष शाहीकाे परिवार माेह, देवर देखि छाेरालाई उपभोक्ता समितिकाे जिम्मा

कालिकोट – कालिकोटको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले आर्थिक वर्ष २०७९/०८० मा आफ्नै घर परिवारका देवर देखि छाेरासम्म लाई विभिन्न  उपभोक्ता समिति बनाएर वा कामको जिम्मा दिएर आधा करोड भन्दा बढिका विभिन्न आयोजनामा काम दिलाएको खुलेको छ ।

वडाबाट चार लाख बजेट विनियोजन भइ भुक्तानी भैसकेको गाउँपालिकाको वडा नं. ०५ स्थित भट्टराई टोलमा वाटो मर्मत योजनाको जिम्मा उनले आफ्नै छाेरा नविन शाहीलाई  जिम्मा दिएकी थिईन । योजनामा उनले कुल २३ ओटा मात्रै जाली राखेर रकम भुक्तानी लिएको पाइएको हो । थाहा छैन ईन्जिनियरले कसरी पास गरे !

प्रशम खोला देखि गाउँपालिकाको केन्द्र जोडने सडक निर्माण गर्न उनका छाेरा नवीन शाही आफैंले डोजर लिएर काम गराई भुक्तानी लिएका हुन । उनका छोरा नविन शाही यो सडक आयोजनाको उपभोक्ता समितिको अध्यक्ष समेत हुन ।

प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर शाहीका अनुसार  उपभोक्ता समिति अध्यक्ष शाहीलाई  १९ लाख बराबरकाे भुक्तानी दिएको बताए ।

यस्तै, गाउँपालिकाको पोषणमैत्री गाउँपालिका कार्यक्रम अन्तर्गत  ६ लाख रुपैंया विनियोजन भएको थियो । बिनियाेजित रकममा उनका छाेरा नवीन शाहीले पोली हाउस अथवा सामान खरिद गर्न भनी पालिकाबाट ६ लाख रुपैंया भुक्तानी लिएपनि हालसम्म सामान वितरण नगरेको पाइएको छ।

वडा न.०५ मै साँझमारे धम्फाला हुँदै अधिकारी वाडा सुनार गाउँ खानेपानी योजनाको उपभोक्ता समितिको सचिवमा उनकै देवर सिंह बहादुर शाही नियुक्त गरेर १५ लाख बराबरको योजनाको भुक्तानी लिएको पाइएको छ ।

प्रदेशको योजनामा १५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । उनले आफ्नै देवर कृष्ण बहादुर शाहीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर प्रशम खोला देखि डाँडावाडा सम्म पिसिसि कुलो निर्माण काम गराएकाे पाईएकाे छ ।

देवर कमल बहादुर शाहीलाई अध्यक्ष बनाएर काम गराएको रहस्य पनि खुलेको छ । उक्त याेजना २० लाख बजेटमा ०५ नम्बर  वडामा रहेको सरस्वती आधारभुत विद्यालयको भवन निर्माण गर्ने रहेकाे छ ।  यसमा साढे सत्र लाख रुपैंया भुक्तानी लिसकेका छन् भने काम जारी नै रहेको छ ।

गत आर्थिक वर्षमा वडा कार्यालयद्धारा प्रसम खोला देखि अधिकारी वाडा खानेपानी आयोजनाका लागि भनेर ५ लाख रुपैंया बजेट विनियोजन गरिएको थियो । सो बजेट कार्यान्वयन गर्न उपाध्यक्ष शाहीले आफ्नै देवर डम्बर शाहीलाई सचिवको रुपमा कामको जिम्मा दिएकी थिईन ।

स्यानीटरी प्याड खरिदमा १७ लाख बजेट विनियोजन भएकोमा उनकै देवर माहादेव मा.वि राराकाटियाका करार शिक्षक वीरेन्द्र शाहीलाई गाउँ पालिकाको विद्यालय निरीक्षक बनाएर दश लाखमा खरिद गर्ने जिम्मा दिइएको खुलेको छ ।

स्यानीटरी प्याड खरिद गर्न गाउँपालिकाले कोटेशन पनि गुपचुपमा शाहीलाई दिएको पाइएको छ ।

यहाँको स्यानीटरी प्याड खरिदमा आर्थिक वर्ष २०७८/०७९ मा पनि यहि प्रवृत्ति दोहोर्याइएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

नेपाली रैवारमा समाचार पढिसकेपछि यसबारेमा कुराकानी गर्दा गाउँपालिका उपाध्यक्ष शाहीले यी याेजनाहरु धेरैजसो आफू निर्वाचित नहुदैँ पहिलेका हुन र तिनलाई नै पुर्णता दिएकाे हाे बाँकि कुरा गाउँमै आएर बुझ्न र फोनबाट कुरा नसोध्न अनुरोध गरिन । ‘तपाईहरु बुझ्ने भए फोनमा कुरा नगर्नुस, गाउँमा आउनुस ।’  दियाे खबरलाई उनले भनिन् ।

तपाईको प्रतिक्रिया