सोती घटनाको वास्तविकता लुकाउन खोज्ने व्यक्तिले दलितको पक्षमा काम गर्लान् :घर्ती

रुकुम/नेकपा एमालेका कर्णाली प्रदेश कमिटि सदस्य कर्णबहादुर घर्तिले माओवादीले दलित अधिकारको नाममा सिन्को नभाचेर दलितकै अधिकार दबाउन प्रमुख भूमिका खेल्ने व्यक्तिलाई स्थानीय तहको उम्मेदवार बनाएको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेले सोमबार संयुक्त रुपमा चौरजहारीमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्नुहुँदै घर्तिले अधिकारका नारा बेचेर बाँचेको माओवादीको पतन हुन थालेको समेत बताउँनुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत चौरजहारी नगरपालिकाको नगर प्रमुख पदमा माओवादीले पुष्प वादीलाई उठाएको र पुष्पलाई दलित अधिकारकर्मी,दलितको प्रतिनिधित्व भन्दै अफवाह फैलाएको समेत उहाँले जनाउनुभयो । उहाँले चौरजहारी ८ सोतीमा २०७५ साल जेठमा भएको सोती घटनाको उदाहरण दिनुहुँदै माओवादी नेता कार्यकर्ताको संलग्नताामा भएको उक्त घटनाको ढाकछोप गर्न पुष्प नै सक्रिय रहेको आरोप लगाउनुभएको छ ।
अन्तरजातिय प्रेम सम्बन्धको कारण ६ जनाको ज्यान जानेगरी भएको उक्त घटनामा माओवादी कार्यकर्ताको संलग्नता रहेको र माओवादीकै नेताले पीडकहरुलाई संरक्षण गरेको भन्दै देश र तथा विदेशमा बिरोध भएको थियो । सोहि बेला माओवादी पार्टीले पुष्प वादी सदस्य रहेको एक आन्तरिक छानबिन समिति गठन गरेको थियो । पुष्पकै कारण माओवादीले उक्त रिपोर्ट गुपचुप पारेको घर्तिले उल्लेख गर्नुभयो । उहाँले चौरजहारी ८ कै वासीन्दा रहनुभएका घर्तिले सोती घटनाको यथार्थता आम रुपमा छ्याङ्गै हुँदा पनि माओवादीले ६ जनाको आफै मरेको हुन् भनेर हल्ला फिजाउनुभको कारण पुष्प वादी पनि भएको बताउँनुभयो ।‘जातियताकै कारण भेरीमा ६ जनाले ज्यान गुमाउनुपर्ने, प्रेम समेत गर्न नपाउँने, माओवादीका नेताले अपराधको संरक्षण गर्दै हिड्ने अवस्था आम समुदायले बुझेका छन्,उहाँले भन्नुभयो,‘अझै पनि माओवादीले जातको नारा दिएर जनतालाई गुमराहमा राख्ने हर्कत गर्दैछ ।’जनतालाई भ्रम सिर्जना गर्ने,अपराधलाई लुकाउन र दवाउन भूमिका खेल्ने व्यक्तिहरु कानूनको कठघरामा आउनुपर्नेमा उल्टै शासक प्रशासक हुने दाउमा रहेको समेत उहाँले बताउँनुभयो ।
उहाँले पुष्पले जातियताको सवालमा गरेका उल्लेखणीय काम जनतालाई जानकारी गराउन समेत चुनौति दिनुभयो । आफूले अवसर दिने र जनतालाई भ्रमको खेतिमा झुलाउन बाहेक अरु काम माओवादीबाट हुन नसक्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश कमिटि घर्तिले लोकतन्त्रको रक्षा, सुशासन, गुणस्तरिय विकास,समृद्धिको लागि काँग्रेस र एमालेले रुकुममा गठबन्धन गरेको समेत जनाउँनुभयो ।

तपाईको प्रतिक्रिया