सरकारले कर्णालीका स्रोतसाधन संरक्षण र सदुपयोग गर्न सक्नुपर्छ–अध्यक्ष नेपाल

कालिकोट /नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कर्णाली क्षेत्रका जल, जंगल, र दैलेखको पेट्रोलियम पदार्थजस्ता महत्वपूर्ण स्रोतसाधनको संरक्षण र सदुपयोगमा सरकार पछि परेको टिप्पणी गर्नुभएको छ।

कालिकोटको रास्कोट बजारमा शनिबार सम्पन्न नेकपा (एकीकृत समाजवादी) कालिकोटको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले सरकार इच्छाशक्तिका साथ लागेमा कर्णाली मात्र होइन, सम्पूर्ण राष्ट्रले यी स्रोतसाधनको लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो।

रास्कोटमा प्रशासनिक सेवा केन्द्र स्थापना आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले, “रास्कोट नपुगेको भए मेरो देश भ्रमण अधुरो नै रहने रहेछ,” भन्दै यस क्षेत्रको विकास र पहुँच विस्तारमा प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमका विशेष अतिथि तथा पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले माधव नेपाललाई शान्ति प्रक्रिया, गणतन्त्र स्थापनाका साथै संविधान निर्माणमा मुख्य भूमिका खेलेको नेता भन्दै कालिकोटको अधिवेशनमा उहाँको उपस्थितिलाई महत्वपूर्ण बताउनुभयो।

पार्टीका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा पार्टीका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सह-इन्चार्ज महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा सांसद अम्मरबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

बाजागाजासहितको विशाल जुलुससहित सञ्चालन भएको अधिवेशन उद्घाटन समारोहमा कलाकार विपना सिंह, शंकर मल्ल लगायत स्थानीय कलाकारहरूले देउडा, झोडालगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए।

तपाईको प्रतिक्रिया