खांडाचक्र नगरप्रमुख शाहीद्वारा तिल्खुरे-धल्पुरा मन्दिरको शिलान्यास

कालिकोट /जिल्लाको खांडाचक्र नगरपालिका-३ ताडीस्थित तिल्खुरे-धल्पुरा मन्दिरको शिलान्यास गरिएको छ। नगरप्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष पूर्ण प्रसाद पाण्डे सभाध्यक्ष रहेका थिए। नगरपालिकाले मन्दिर निर्माणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने ८० हजार रुपैयाँ बराबरको श्रमदान जुटाइने स्थानीयहरूले बताएका छन्।

नगरप्रमुख शाहीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय विकासलाई सुदृढ बनाउन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताए। “धार्मिक संरचनाहरूको विकासले समुदायमा आस्था अभिवृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ। नगरपालिकाले मन्दिर, बाटो, खानेपानीजस्ता आधारभूत पूर्वाधार निर्माणलाई निरन्तरता दिनेछ। स्थानीयको सक्रिय सहभागिता आवश्यक छ,” उनले भने।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, मन्दिरका पुजारी कुलचन्द्र पाण्डे, बसन्त पाण्डे, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो।

स्थानीय माधव प्रसाद पाण्डेले मन्दिर निर्माणले धार्मिक तथा सामाजिक एकता मजबुत बनाउने विश्वास व्यक्त गर्दै समुदायस्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। “हाम्रो पहलले मन्दिरलाई धार्मिक तथा सांस्कृतिक केन्द्र बनाउन मद्दत गर्नेछ,” उनले भने। स्थानीयहरूले मन्दिर निर्माण कार्यलाई सफल बनाउन ऐक्यबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया