तिलागुफा नगरपालिकाको १६औँ हिउँदे अधिवेशन सम्पन्न

कालिकोट — तिलागुफा नगरपालिकाको १६औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार समुन्नत तिलागुफा नगरपालिकाका लागि सबल स्थानीय सरकार” भन्ने नारासहित सम्पन्न अधिवेशनले हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ।अधिवेशनमा चालू आर्थिक वर्षको कुल बजेटमध्ये हालसम्म पुँजीगत र चालू खर्च विवरण प्रस्तुत गरिएको छ। साथै, नगरपालिकाले अर्धवार्षिक समीक्षा गर्दै विभिन्न ऐन, कार्यविधि तथा नीति पारित गरेको उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए।

नगर प्रमुख शंकरप्रसाद उपाध्यायले नगरपालिकालाई समृद्ध बनाउन नीति निर्माण, योजना संशोधन र कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताए। “पर्यटन क्षेत्रको प्रवर्द्धनसहित भौतिक पूर्वाधार निर्माणमा निरन्तरता दिएका छौँ। चुनावी प्रतिबद्धता अनुसारका योजनाले मुर्त रूप लिन थालेका छन्,” उनले भने।

उनले तिलागुफा नगरपालिकालाई नमुना पालिका बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै अग्रस्थान हासिल गरेकोमा खुशी व्यक्त गरे।

उपप्रमुख महेन्द्रबहादुर शाहीले अधिवेशनमार्फत नीति सुधार, कार्यान्वयन रणनीति तथा कानुनी प्रक्रिया अघि बढाइएको बताए। “हामी सफल स्थानीय तह निर्माणका लागि निरन्तर प्रयासरत छौँ, यसका लागि सबैको सहकार्य आवश्यक छ,” उनले भने।

नगर सभाहलमा सम्पन्न अधिवेशनमा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया