कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर काममा

रुकुम पश्चिम  / रुकुम पश्चिम र पूर्वका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । राष्ट्रिय कार्यक्रम अनुसार जिल्लाका कर्मचारीहरु पनि सांकेतिक आन्दोलनमा छन् । अहिले सरकारी कार्यालयमा माग सहितको कालो ब्यानर राखिएको छ भने कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

५ वटा कर्मचारी संगठन सम्मिलित संयुक्त ट्रेड यूनियन सञ्जालले विभिन्न ११ वटा माग सहित आन्दोलनको घोषणा गरेको छ । जसअन्तरगत भाद्र ७ गतेदेखि १७ गतेसम्म कार्यालयमा कालो ब्यानर राख्ने र हातमा कालो पट्टी बाँधेर सांकेतिक आन्दोलन गर्ने कार्यक्रम अनुसार जिल्लामा पनि सोही अनुसार भइरहेको नेपाल निजामती कर्मचारी यूनियन रुकुम पश्चिमका अध्यक्ष देवबहादुर ओलीले जानकारी दिनुभयो ।

यसमा कर्मचारीहरु स्वैच्छुक रुपमा सरिक भइरहेको उहाँको भनाई छ । संयुक्त ट्रेड यूनियन सञ्जालले कर्मचारी मैत्री र सेवा मैत्री हुने गरी संघीय, प्रदेश र स्थानीय तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेको छ । क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता, तीनै तहमा कार्यरत कर्मचारीलाई निमामतीको परिभाषामा समावेश गर्न र तीनै तहमा लागु हुने गरी तहगत प्रणाली लागु माग गरिएको छ ।

त्यस्तै तीनै तहमा अन्तरसम्बन्ध कायम हुने गरी राष्ट्रिय स्तरका ट्रेड यूनियन र आधिकारिक ट्रेड यूनियनको व्यवस्था गर्न र समायोजनबाट उत्पन्न समस्या तत्काल हल गर्न पनि माग सञ्जालले माग गरेको छ । सञ्जालको मागमा ऐक्यबद्धता जनाउदै देशभरका कर्मचारीहरु आन्दोलनमा सरिक भएका छन् ।

तपाईको प्रतिक्रिया