कालीकोट र जुम्ला जोड्ने पक्की पुल निर्माण नसकिँदै चर्कियो

सुर्खेत /जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेको पुल निर्माण नहुँदै चर्किएको छ । ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएको हो ।
परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएको हो ।
ठेक्का नम्बर ३ को यस पुल निर्माणका लागि सूर्य कन्ट्रक्सन फर्म प्रा।लि सुर्खेतले ठेक्का पाएको थियो । २०७४ साल कात्तिक ३० गते सम्झौता गरिएको पुलको निर्माणकार्य २०७५ साल चैत १४ गते सम्पन्न गरिसक्नुपर्ने थियो । तर, सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि अहिलेसम्म तीन पटक म्याद थपिसकेको छ ।
पुलको डिजाइनमै समस्या भएपछि रिडिजाइन गर्नुपरेको थियो । अहिले पुलको काम रोकिएको छ । छिडेनाको पुलको भने निर्माणकार्य सम्पन्न भइसकेको छ ।
चर्किएको पुल निर्माणका लागि साउनको पहिलो हप्ता जुम्लामा भारतबाट इन्जिनियरको टोली आउने भएको छ । यो पुलमा अब दशैँ सम्ममा गाडी गुड्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुलको भित्र ग्राउटिङ गर्नुपर्ने छ ।
रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीको दाबी छ । सिंजाखोला पुलको लम्बाई ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन भार धान्न सक्ने बताइएको छ ।
यस ठाउँमा लामो समयअघि निर्माण भएको बेलिब्रिज पुल पनि जीर्ण भइसकेको छ । जीर्ण बेलिब्रिज पुलबाट यात्रा गर्दा जोखिम भएको भन्दै चाँडै पुल निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुलको अनुगमन गरेका छन । उनले पुलको विषयमा सम्बन्धित निकायमा बुझ्ने र चाँडै काम सञ्चालनमा ल्याउन समन्वय गर्ने बताए। by tilanews.com

तपाईको प्रतिक्रिया