कालिकोट/ जातिय भेदभाव तथा छुवाछुतविरुद्धको ऐन कार्यान्वयनको अवस्थाबारे कालिकोटमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको छ । पछिल्लो समय जिल्लामा जातिय छुवाछुतको अवस्था,सरोकारवाला तथा नागरिक समाज र पत्रकारहरुले जातिय छुवाछुतको विषयमा उठाएका कदम के कस्ता छन् भन्ने विषयमा विशेष बहस तथा छलफल गरिएको हो ।
समता फाउन्डेसन नेपालको आर्थिक सहयोगमा कालिकोटका सरोकारवालाहरुसँग जातिय भेदभाव तथा छुवाछुतविरुद्धको ऐन कार्यान्वयनको अवस्था बारे विशेष बहस तथा छलफल गरिएको छ । कार्यक्रममा बोल्दै कालिकोटका प्रहरी प्रमुख सिद्धराज न्यौपानेले आफ्नो सरुवा कालिकोटमा भइसकेपछि जातिय छुवाछूतका मुद्दाहरु खासै नआएको भन्दै खाँडाचक्र–६ कि निरु बिकको हत्यारा पत्ता लगाउन अनुसन्धान गरिरहेको बताए ।
न्यौपानेले निर्मला पन्तको अनुसन्धानमा एक वर्ष काम गरेको पनि बताए । जातिय छुवाछुतको विषय मात्र नभई कालिकोटमा आउने जुनसुकै मुद्दामा आफन्तहरुको नै मिलोमत्तोमा मुद्दाहरु मिलाउने गरेकाले पीडितले न्याय नपाएको प्रहरी प्रमुख न्यौपानेको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जातिय छुवाछुत कालिकोटमा पहिलेको तुलनामा अहिले कमी आए पनि खासै जातिय छुवाछुतकै मुद्दामा कानूनी कारवाही भने कमैले पाएको बताए । गाउँ समाजमा दलित समुदायप्रति माथिल्ला जातका व्यक्तिले अन्याय गरेपनि गाउँमै मिलोमतो हुने गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
दलित अधिकारकर्मी रमेश नेपालीले नागरिक समाज, पत्रकार, सरोकारवालाहरुको पहलका कारण जातिय छुवाछुतमा कमी भए पनि अझै न्यूनिकरण नभएको बताए । जातिय छुवाछुतका सानातिना मुद्दा परेपनि स्थानिय सरकारको न्यायिक समितिले मुद्दा मामला मिलाउने गरेको उनको भनाइ छ ।
नेकपा एमाले अध्यक्ष एवं खाँडाचक्र नगरपालिकाका नगर-प्रमुख जसि प्रसाद पाण्डेले जातिय छुवाछुत न्यूनिरकण तथा रोकथामका लागि आफ्नो नगरपालिकाले कदम थालिरहेको बताए । उनले स्थानीय सरकार नहुनु पहिला जातिय छुवाछुतका मुद्दा बढी पर्ने,दलित समुदायको नागरिकहरुलाई माथिल्ला जातका मानिसहरुले हेप्ने,छिछि दुरदुर गर्ने गरेता पनि अहिले कमी आएको बताए ।
कार्यक्रममा समता फाउन्डेसनका अधिवक्ता प्रकाश नेपाली, रोजी बिसुंकेले कार्यक्रमको सहजिकरण गरेका हुन् । दलित सेवा संघका जिल्ला अध्यक्ष दानबहादुर विश्वकर्माले दलितको हक अधिकारका विषयमा विगत लामो समयदेखि आफूले बुझ्दै र लड्दै आएकाले दलित सेवा संघ अब सधैभर दलित अधिकारका लागि लाग्ने बताए । कार्यक्रमको समन्वय दलित सेवा संघ कालिकोटले गरेको थियो ।
तुलराज पाण्डे । २ फाल्गुन २०७८, सोमबार १७:४२