कर्णालीमा एमालेलाई मुख्यमन्त्री बन्न नदिने केपी ओली हुन् – उपाध्यक्ष गाउँले

कालिकोट/नेकपा(एकीकृत समाजवादी)कालिकोटका उपाध्यक्ष चित्रसिंह गाउँलेले कर्णालीमा एमालेलाई मुख्यमन्त्री बन्न नदिने केपी ओली भएको आरोप लगाउनु भएको छ ।सिंगो कर्णाली प्रदेश भरको प्रदेशसभा सदस्य संख्या ४० मध्ये एमाले एक्लैले २० सिटसहित बहुमत ल्याउदा समेत पार्टीको केन्द्रीय अध्यक्ष केपी ओलीले कर्णालीमा एमालेले मुख्यमन्त्री बन्न नदिएर लात्ती हानेको उहाँको आरोप थियोे । शुक्रबार खाँडाचक्र नगरपालिका वडा-३ ताडीमा पार्टीको वडा कार्यालय उद्घाटन पछिको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गाउँलेले केपी ओलीले सबैभन्दा बढी अन्याय यामलाल कँडेल माथि गरेको भन्दै यामलाल कँडेलहरुमा बिद्रोह गर्ने ल्याकत नभएका कारण केपी प्रबृत्ति बिरुद्ध प्रकाश ज्वालाको नेतृत्वमा बिद्रोह सुरु भएको दाबी गर्नुभयो ।
केपी शर्मा ओली भन्दा माधव कुमार नेपाल राम्रो देखेर वा बढी पढेको ठानेर नभइ यो मुलुकमा गणतन्त्र सहितको व्यवस्था र शान्ति ल्याउने र अहिले पनि व्यवस्था जोगाउने ईमान्दार नेता हुनुको कारण आफुहरुले माधव नेपालको पार्टीलाई साथ दिएको उहाँको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अर्का उपाध्यक्ष कमल बहादुर शाहीले समाजमा रहेर गलत कामको नेतृत्व गर्नेहरुलाई तह लगाउने समय आएको भन्दै त्यसका लागि एकीकृत समाजवादी बाट मात्रै सम्भव रहेको धारणा राख्नुभएको थियोे । साथै उहाँले जनताको र कार्यकर्ताको साथ तथा समर्थन देख्दा खाँडाचक्रको साथै कालिकोट जिल्ला एकीकृत समाजवादीको लालकिल्ला बन्न थालेको समेत दाबी गर्नुभएको थियोे ।
प्रदेश कमिटी सदस्य दान बहादुर विश्वकर्मा,जिल्ला कमिटी सचिवालय सदस्यद्वय प्रजापति आचार्य र लक्ष्मण कुमार शाही लगाएतका नेताहरूले सम्बोधन गरेका छन्। सो कार्यक्रममा रामप्रसाद पाण्डे अध्यक्ष,पूर्णप्रसाद पाण्डे र जिरा पाण्डे उपाध्यक्ष,मिनबहादुर शाही सचिव, रहेको ४१ सदस्यीय वडा कमिटी घोषणा समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया