दियो खबर संवाददाता ।
बैतडी २३ भाद्र
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।
पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र ६ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर दाबी गरिएको छ ।
सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने दुई शिक्षक अर्का एक स्थानीयले बलात्कार गरेको आरोप लागेको हो।
तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् । ६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए।
उनले भने, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको बयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताए।उनले भने, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।”किशोरीलाई ललाइफकाई करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ ।कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । यद्यपि बलात्कारको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन ।
देश सञ्चारबाट साभार
दुई शिक्षकमाथि लाग्यो छात्रा बलात्कारको आरोप
तपाईको प्रतिक्रिया
दियो खबर । २३ भाद्र २०७७, मंगलवार १७:३२