कालिकोटमा होलीको रौनक:अबिर,नाचगान र खेलकुदसँगै उत्सव

सुर्खेत– कालिकोटलगायत पहाडी जिल्लाहरूमा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदैछ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली विशेष उत्साहका साथ मनाउने परम्परा रहेको छ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजयको प्रतीक मानिने यो पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेम, सद्भाव र आत्मीयताको भावना साटासाट गर्ने चलन छ। आफन्तजन, साथीभाइ तथा छरछिमेकीबीच अबिर तथा विभिन्न रंगहरू लगाएर, नाचगान गर्दै रमाइलो गरिन्छ।

कालिकोटमा आज बिहानैदेखि स्थानीय बासिन्दा, युवा तथा बालबालिकाले एकआपसमा रंग दलेर होली खेल्न सुरु गरेका छन्। बजार क्षेत्रमा विशेष चहलपहल बढेको छ भने विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको छ।

युवाहरूले परम्परागत शैलीमा मात्रै होइन, खेलकुदमार्फत पनि होली मनाएका छन्। पवन वमका अनुसार युवाहरूले खेल मैदानमा भेला भएर क्रिकेट खेल्दै होली मनाएका छन्। उनले भने, “रंग मात्रै होइन, खेलकुदले पनि हामीलाई जोड्छ। होलीका अवसरमा क्रिकेट खेल्दै साथीहरूसँग रमाइलो गर्ने अवसर पायौं, यो पर्वलाई अझ विशेष बनायौं।”

नेकपा (एस) कालिकोट जिल्ला अध्यक्ष चित्र सिंह गाउँलेका अनुसार होली पर्व सामाजिक एकता, सद्भाव र मेलमिलापको प्रतीक भएकाले यसलाई मर्यादित र अनुशासित रूपमा मनाउन आवश्यक छ। उनले भने, “होलीले समाजमा भाइचाराको सम्बन्ध मजबुत बनाउने काम गर्छ। यस अवसरमा सबै समुदायबीच एकताको सन्देश फैलाउनुपर्छ।”

यस्तै,खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाहीले नगरवासी तथा जिल्लावासीलाई होली पर्वको शुभकामना दिँदै यस पर्वले आपसी प्रेम र मेलमिलापको सन्देश फैलाउने विश्वास व्यक्त गरे। उनले भने, “होली केवल रङहरूको पर्व मात्र होइन, यसले समाजमा आत्मीयता, सौहार्दता र समरसताको भावना बढाउँछ। यसलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाऔं।”

यस अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूले पनि होलीलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा अनुरोध गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले होली पर्व मनाउँदा सभ्य र सुरक्षित वातावरण कायम राख्न आग्रह गर्दै भने, “उत्सव उल्लासका साथ मनाउनु राम्रो हो, तर सामाजिक शिष्टता र मर्यादा कायम राख्नु सबैको जिम्मेवारी हो। प्रशासनको तर्फबाट शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ।”

होली पर्वका अवसरमा विभिन्न संघसंस्थाले निःशुल्क जलपान सेवा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। सुरक्षा निकायहरूले अत्यधिक मद्यपान नगर्न तथा जबरजस्ती रंग नलगाउन आग्रह गरेका छन्।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको टोली होलीमा रमाउदै

तपाईको प्रतिक्रिया