सान्नी त्रिवेणी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कालिकोट – सान्नी त्रिवेणी गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मुम्रामा सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले गर्नुभयो।

गाउँपालिकाको सामाजिक विकास समिति संयोजक जयप्रसाद सिम्खाडको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष केसी रहनुभएको थियो भने विशेष अतिथि प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, शिक्षक, कर्मचारी, समाजसेवी, बुद्धिजीवी र खेलाडीको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष केसीले खेलाडी छनोटमा कुनै पनि प्रकारको पक्षपात नगरी निष्पक्ष रूपमा उत्कृष्ट टिम तयार पारिने बताउनुभयो। “खेलाडीको गहना अनुशासन हो। सबै खेलाडीले अनुशासनमा रही आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, गाउँपालिकाले आगामी दिनमा खेलकुदलाई प्रवर्द्धन गर्न थप प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै आएको र यस पटक पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गरिने सामाजिक विकास समिति संयोजक सिम्खाडाले जानकारी दिनुभयो।

राष्ट्रिय भलिबल खेलाडी तथा प्रतियोगिताका प्रमुख रेफ्री खेमराज गिरीका अनुसार प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा विभिन्न विधाका खेल समावेश छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू जिल्ला स्तरका लागि छनोट हुनेछन्।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले खेलाडीको मनोबल उच्च बनाउन र उनीहरूलाई हौसला दिन यस्ता प्रतियोगिताको आयोजना आवश्यक रहेको बताउनुभयो। “खेलाडी अनुशासित हुनु अनिवार्य छ। अनुशासनले नै खेलाडीलाई सफल बनाउँछ,” उहाँले भन्नुभयो।

यो प्रतियोगिता खेलाडीहरूको प्रतिभा पहिचान गर्ने र भविष्यका लागि सक्षम खेलाडी उत्पादन गर्ने अवसरका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया