नरहरिनाथका वाडीपीडितको अवस्थाप्रति विष्टको चिन्ता

कालिकोट/नेकपा (एस) कर्णाली प्रदेश कमिटीका सचिव तथा पूर्व नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-४ र ७ का वाडीपीडितहरूको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

२०७७ सालमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिएका १०१ घरधुरी अहिले पनि आधारभूत सेवासुविधाबाट वञ्चित रहेको विष्टले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। उनले बस्तीमा स्वास्थ्य, शिक्षा, खानेपानी र अन्य न्यूनतम आवश्यकताहरू पूरा गर्न सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
विष्टका अनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारले हालसम्म पीडितहरूको पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न सकेका छैनन्। साथै, उनले २०७४ सालमा आफू गाउँपालिकाको अध्यक्ष भएका बेला निर्माण गरिएका विभिन्न विकास योजनाहरू अहिले अलपत्र परेको उल्लेख गर्दै ती योजनाहरूलाई पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।

उनले वाडीपीडितको समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायले तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया