कालिकोटको खाँडाचक्रमा भूमि आयोगका निस्सा वितरण सुरु

कालिकोट/राष्ट्रिय भूमि आयोगका कामकाजहरु अघि बढ्ने क्रममा शुक्रबार कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ११ का अव्यवस्थित वसोवासीहरुलाई जग्गा दर्ताको निस्सा वितरण गरिएको छ ।

वडा अध्यक्ष देवराज भारतीको अध्यक्षता र भूमि आयोग जिल्ला समिति कालिकोटका अध्यक्ष चित्रबहादुर सिंहको प्रमुख आतिथ्यता मा एक समारोहका बिच निस्सा वितरण गरिएको हो ।

हालसम्म प्रक्रिया पुगेर लगत प्रविष्टी समेत भइ वडाले तयार गरेका ४३ घर परिवारलाइ निस्सा वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समिति अध्यक्ष सिंहले सो वडाका जनप्रतिनिधिहरुको सक्रियता र अधिकांस दलित घरपरिवारहरु अव्यवस्थित भएको कारण आयोगले जिल्लामा पहिलो पटक खाँडाचक्र – ११ लाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

विधमान कानुनहरुले अव्यवस्थित बसोवासीहरु आफैले भोकचलन गरिरहेको जग्गा समेत अरुबाट मूल्य तिरेर किन्नु सरहकै मूल्य राजस्व तिरेर जग्गाको पुर्जा लिन नसक्नुपर्ने अवस्था को अन्त्यका लागि आयोग क्रियाशील रहेको भन्दै अध्यक्ष गाउँलेले निस्सा पाएकाहरु लाई चाडैं पुर्जा पाउने गरेर आयोगका कामकाज अघि बढाउने धारणा राख्नुभयो ।

आयोग जिल्ला समिति विज्ञ सदस्य मिम बहादुर कार्की , सदस्य टेक बहादुर शाही र विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुको सहभागितामा भएको सो कार्यक्रममा वडा अध्यक्ष भारतीले वर्षौदेखि आवाद कमोद गर्दै आएर तीनतला सम्मका घर समेत निर्माण गरेर पनि जग्गा आफ्नो नाउँमा नभएका अव्यवस्थित वसोवासीहरुका समस्या चाडैं समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।

वर्षौदेखि वस्दै आएको जग्गा आफ्नो नाममा नभएको कारण सो वडाका दलितहरुले बाढी पहिरो प्रभावित र जनता आवासको नाममा निर्माण गर्नुपर्ने आवासीय घर निर्माण र बजेट पाउने विषयमा समेत बञ्चित हुनु परेको उहाँको भनाइ थियो । वडा पालिका सदस्य सूर्य बहादुर शाही(सुधार)ले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य तुलराज शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अव्यवस्थित बसोवासीहरुको व्यापक उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया