-धनराज वास्तविक
एक सयम थियो, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीत घन्काउदै जनता जगाउने। श्याम तमोटले चरना गरेको र रामेश-रायनहरूले स्वरबद्ध गरेको त्यो क्रान्तिकारी गीत चीनियाँ, हिन्दी र फ्रेन्चसहित दर्जनौं विदेशी भाषाहरूमा स्वरबद्ध छ। त्यस्ता गीतहरूले सुतेको चेतनालाई ब्युँझाउने र लुकेको प्रतिभालाई जगाउने कामगर्थे। राज्यसत्ताका विरुद्ध जनतालाई आन्दोलनमा उभ्याउन र विद्रोही चेतना निर्माण गर्न क्रान्तिकारी साहित्यको अहम भूमिका रहँदै आएको छ।
गाउँबाट जनता जगाएर कम्युनिष्ट-कांग्रेसहरुले २०६३ सालमा दोस्रो जनआन्दोलन कुशलता पूर्वक सम्पन्न गरेर मुलुकलाई समाजवादोन्मुख अवस्थामा ल्याएका हुन्। आज समय बदलिएको छ। दर्शनमाथि विज्ञान र राजनीतिमाथि लोकप्रियतावादले हमला गरिरहेको छ। यस्तो बेला कुन गीत गाउने ? कुन साहित्य सुनाउने ? मान्छेहरू निक्कै स्वार्थी र अवसरवादी बनिसकेका छन्। आफ्नै नागरिकलाई शरणार्थी बनाएर बेच्ने र अमेरिकी बन्ने रहर भएका नेपालीहरुको कथा सहतमै छ। यस्ता मान्छेहरूले क्रान्तिकारी गीत सुन्नेवाला छैनन्। समाज मानवताभन्दा पर पुगेको देखिन्छ। व्यक्तिगत सुख, समृद्धि, सम्पन्नता र विलाशीताको पछि दौडिएको समाजलाई क्रान्तिकारी साहित्य कुन चराको नाम ? आज नेपाली समाजको आकाशमा चारैतिर सन्नाटा र उकुसमुसले छपक्कै ढाकेको छ। खासगरी युवामा निराशा देखिन्छ। जनताहरू सरकारी सेवा प्रवाहप्रति असुन्तुष्ट देखिन्छन् । राजनीतिको नाममा अराजकता बढ्दैछ। दलहरूभित्रको अराजकता, तानाशाही प्रवृत्ति र दलीयतन्त्रको सिकार बन्दै गइरहेको लोकतन्त्रलाई बचाउनु पर्ने चुनौती छ।
यि र यस्ता अनेकखाले चुनौतीको सामना गर्न, समाजवाद हासिल गर्न र मुलुकले खेपिरहेको सबैखाले संकटको अन्त्यका लागि ‘गाउँ गाउँबाट उठ, बस्ति बस्तिबाट उठ’ होइन, हरेक पार्टीभित्रबाट उठ, गुटबाट उठ, गिरोहबाट उठ भन्नुपर्ने हुन्छ। नेपाललाई समाजवादी मुलुकका रुपमा स्थिपित गर्नका लागि उठ भन्नुपर्ने हुन्छ। अब प्रश्न उठ्छ, यो कसले भन्ने ? कसले सुरुवात गर्ने ?
कम्युनिष्टले गर्ने
कांग्रेस निक्कै लामो इतिहास र परिवर्तनमा ठूलो योगदान पुर्याएको पार्टी हो । खैर, आज उसले लिनुपर्ने बाटो नलिदा उसको अस्तित्वमाथि प्रश्न उठिरहेका छन्। अर्कोतर्फ छिन्नभिन्न अवस्थामा छन् कम्युनिष्ट । पछिल्लो परिर्वतनको मुख्य हकदार माओवादी केन्द्र सत्तामा छ। माओवादी पार्टी जनयुद्ध र माआवादको जडतामा बाँचिरहेको छ। यि जडताबाट बाहिर नआइ उसले समाजलाई अगाडि बढाउने ल्यागत राख्दैन। अर्कातिर एमाले छ। त्यसको के कुरा गर्नु ? केपी ओलीको फोटोको सामुन्नेमा बसेर आरती गर्नु एमालेजनको दिनचर्या बनेको छ। जबजलाई पोलेर खाने बाहेक एमालेसँग कुनै आहार छैन। फेरी अर्को प्रश्न उठ्छ को सँग छ त सम्भावना ? साच्चै मुलुकको वर्तमान उकुसमुकुसलाई चिर्नसक्ने पार्टी कुन हो ? यसको सरल जवाफ हो एकीकृत समाजवादी पार्टी।
एकीकृत समाजवादी पार्टी एमालेसँगको विद्रोहलाई पु्ष्टिगर्ने क्रममा छ। मुलुक र जनताको सुनौलो दिन ल्याउने उद्घोष गरेको एकीकृत समाजवादी पार्टीले २०७९ को चुनावमा थ्रेसहोल्ड कटाउन नसक्नुलाई विद्रोहको पुष्टिसँग जोडेर हेर्नु असान्दर्भिक र अराजनीतिक हुन्छ। एमाले अध्यक्ष केपी ओलीले दुई-दुई पटक संसद विघटन गरेर संविधान र लोकन्त्र मास्ने अपराध गरेका थिए। त्यो अपराधलाई टुलुटुल हेरेर बस्न सकिने अवस्था थिएन। कोही न कोही प्रतिगामी कदमका विरुद्ध उभिनै पथ्र्यो। माधव नेपालको नेतृत्वमा उभिएका समाजवादी योद्धाहरूले मुलुकको राजनीतिक स्थितिलाई मुल बाटोमा फर्काए। संविधान र लोकतन्त्र जोगाए। ढल्न लागेको लोकतन्त्र, राष्ट्रियता र समाजवादी राजनीतिको झण्डा उठाए। राजनीतिमा योभन्दा ठूलो विद्रोहको पुष्टि अरु के हुन्छ ?
आजको दिनमा यो पार्टी कमजोर बनेको टिप्पणी सुनिन्छन्। म त के भन्छु भने यो पार्टी बन्छ र बनाउनु पर्छ। यदि नेतृत्वलाई पार्टी बन्दैन भन्ने लाग्छ र पार्टी बिचौलीया, दलाल र अवसरवादीको कब्जामा जान थाल्यो भन्ने लाग्छ भने विघटन गरेपनि हुन्छ! होइन, कम्युनिष्टहरूबीचको एकता आजको आवश्यकता हो भन्ने लाग्छ भने विचार मिल्ने पार्टीसँग एकता गरेपनि हुन्छ। किन कि इतिहासको पानामा एकीकृत समाजवादी पार्टीका बारेमा सुन्दर अक्षर लेखिसकेका छन्।
कथा यत्तिकैमा सकिँदैन। अब पनि मुलुकको भविष्य मुलत: एकीकृत समाजवादी पार्टीसँगै जोडिएको छ। स्मरण रहोस्, ‘यात्रा समृद्धिको, लक्ष्य समाजवाद’ को भन्ने नारा लिएर जनताको बीचमा जाँदा तीन लाख भोट पाउनु चानचुने कुरा थिएन। एमालेहरू पार्टी विभाजन गरेको आरोप बोकेर जनताबीचमा गएका थिए। माओवादी केन्द्र र कांग्रेसले सक्दो घात गरेकै हो। पछिल्लो समय उक्त पार्टीका कार्यकर्ताहरूमा केही निराशा र असन्तुष्ट बनको देखिन्छ। यहाँनेर समाजवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलनबारे कमजोर कार्यकर्ता अवसरवादको चक्करमा पर्न सक्छन्। तर, जो असली क्रान्तिकारी छन्, ति कोही पनि दायाँबायाँ हुँदैनन्। समाजवाद निर्माण कठिन विषय हो भनेर बुझेका योद्धाहरू निःसर्त र निःस्वार्थ रूपमा आन्दोलनको मैदानमा उभिन्छन्।
आज सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही राम्रो काम गरौं भन्नेमा देखिन्छन्। तर, सत्ता गठबन्धनमा रहेका दलहरू कांग्रेस, जसपा र एकीकृत समाजवादी केही नेताहरू भ्रष्टाचार, हिनामिहना जस्ता मुद्धामा पक्राउ परेका र पर्नेवाला छन्। यस्तो बेला प्रचण्ड सरकार संकटको बाटोउन्मुख नजाला भन्न त सकिन्न। तर, कम्युनिष्ट-कांग्रेसबारे प्रदिप गिरिको भनाईलाई आत्मसात गर्ने हो भने यो स्थिति दुरको कुरा हुनेछ। गिरिले भनेका छन्, ‘मोटाघाटा, भुसतिर्के, गाडी घोडावालासँग नडराउनु। भोका, नाङ्गा, मजदुर, महिला, दलितहरूले औला उठाए भने सोच्नु। यस्ता विषयमा मेरो भनाई त के छ भने सोभियत संघको विघटनपछि कम्युनिष्ट र डेमोक्रेटबीचको लडाई सकिसकेको हो। मिलेर जानुपर्छ। दुवै पक्षलाई टाढा होइन, नजिक राखेर जाऔं।’
अन्त्यमा, यदि आजका कम्यु्निष्ट र कांग्रेससँग समजदारीको भावना र देश बनाउने हुटहुटी छ भने वर्तमान सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ। माथि भनिएझैँ आजका मान्छेहरुसँग समपर्ण छैन। क्रान्तिकारी पन छैन। बलिदानको भावना छनै। सामूहिकतामा विश्वास छनै। सच्चाकर्म गर्नेहरु, विचार र सिद्धान्तका हिमायतिहरू पार्टी र संगठनभित्र अल्पमतमा छन्। समाजवादलाई लक्ष्य बनाएर अगाडि बढिरहेका योद्धाहरुलाई प्रतिक्रियावादी शक्तिहरुले नानाथरी आरोप लगाएर बदनाम गर्ने प्रयास गरिरहेका छन्। यस्तो बेला एकीकृत समाजवादीले पार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ। श्रेणीवद्ध पार्टी संरचनाले वर्गविहिनताको औचित्यमाथी प्रश्न खडा गरिरहेको छ। वर्ग दृष्टिकोण के हो? आधुनिक युगको लोकतन्त्र कस्तो हुन्छ? समाजवादको नेपाली मोडलको खाँका कस्तो हुन्छ? यि सबै विषयमा स्पष्ट पारेर अगाडि बढ्न सक्नुपर्छ।
जनप्रिय पार्टी बनाउनका निम्ति एक पद, एक व्यक्ति, पार्टीमा युवाहरू उपस्थिति, राष्ट्रिय विषयमा लिनुपर्ने अडान, वर्गप्रतिको घारणा दुनियाँलाई भन्नुपर्छ। त्यस्तै सांगठनिक संरचना निक्कै भद्दा छ। पार्टीभित्रको र देशको संकट मोचनका निम्ति क्रान्तिकारी पार्टी सानै भएपनि हुन्छ। ‘कता कता देखेजस्तो लाग्यो नि’ यो वाला संरचनाले क्रान्ति अगाडि बढ्दैन। यसका निम्ति विगत दुई वर्षमा भएका गरेका राम्रा नराम्रा कामहरूको निर्मम समिक्षा गर्नुपर्छ। रुपान्तरणसहितको पुस्तान्तरण आजको आवश्यकता ठान्नुपर्छ। हिन्दु-मुुसलमानबीचको प्रेम खोजेका गान्धीले नाथुराम गोट्सेको हातबाट गोलि खाएर मर्नु परेको इतिहास साक्षि छ। नेपालमा समाजवादको झण्डा उठाएका माधव नेपालहरू अल्पमतमा पर्न सक्छन्। घनश्यामहरूको वैचारिक आग्रहलाई पूर्वाग्रही बुझिन सक्छ। जेसुकै भनिएपनि समाजवादी आन्दोलन अबको एकमात्र लक्ष्य हो। यस लक्ष्यमा ढिलो चाँढो विश्वमानव जाती संक्रमण हुनैपर्छ। चेतना भया।
दियो खबर । २२ मंसिर २०८०, शुक्रबार ०७:२६