रुकुम पश्चिम / रुकुम पश्चिममा केन्द्रीय प्रशारण लाइन बन्द भएको छ । मर्मतको काम गर्नुपर्ने भएकोले सल्यानको शितलपाटी सव स्टेशनदेखि रुकुम पश्चिमको धैरेनीचौर सवस्टेशन सम्मको ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको हो । सल्यानको रामेखोला, बागचौर र रुकुम पश्चिमको झुल्नेटा लगायतका ठाउँमा मर्मत गर्नुपर्ने भएकोले आजदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ ।
आज एक सूचना जारी गर्दै तत्काल मर्मत नगरे जोखिमयुक्त हुने भएकोले विद्युत अवरुद्ध गरेर मर्मतको काम थालिएको केन्द्रले जनाएको छ । मर्मतको काम नसकिदासम्म विद्युत सेवा अवरुद्ध नै रहने केन्द्र प्रमुख अशोक लोहनीले जारी गरेको सूचनामा उल्लेख छ । तर मर्मतका लागि कति दिन लाग्ने भनेर भने खुलाइएको छैन् । हाल जिल्लामा सल्यान र जाजरकोट गरी दुई ठाउँबाट विद्युत आपुर्ति भइरहेको छ ।
जाजरकोटबाट भने विद्युत आपुर्ति भइरहेको र उक्त विद्युत वितरण भइरहेको वितरण केन्द्रले जनाएको छ । यसअघि झुल्नेटामा पोल भासिएपछि केही दिन अघि पनि विद्युत सेवा अवरुद्ध भएको थियो ।
भावना शर्मा । २८ भाद्र २०७९, मंगलवार ११:२३