क्यानले गर्याे सन्दीप लामिछानेलाई निलम्बन

काठमाडौं /  नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो ।

‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ‚’ विज्ञप्तिमा भनिएको छ ।

२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो । गत मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया